सिलगढी: ७० वर्षीय वृद्धाको जलेको अवस्थामा शव उद्धार भएको छ। उक्त घटना सिलगढी नगरनिगमको २५ नम्बर वार्डको मिलनपल्ली इलेक्ट्रिक अफिस इलाकामा भएको हो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार अमेरिकाबाट फर्किआएकी छोरीसित वृद्धा करबी दास उक्त घरमा बस्दै आइरहेका थिए। केही दिनदेखि तिनी मानसिक तनाउमा थिए। यसैले गर्दा तिनले आगो लगाएर आत्महत्या गरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। घटनाको खबर पाएर दमकल विभाग र सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर,घटनाको खबर पाएर इलाकाको काउन्सिलर जयन्त शाहा पनि घटनास्थलमा पुगेर दुःख प्रकट गरे। केही दिनदेखि वृद्धा करबी दास मानसिक तनाउमा रहेकोले गर्दा नै वृद्धाले आत्महत्या गरेको हुनसक्ने तिनले बताए।









