नयाँ दिल्ली: राजधानीको इन्दिरा गान्धी अन्तरराष्ट्रीय हवाईअड्डाबाट ३८१ हज यात्रीहरूको पहिलो टोली गए अबेर राती लगभग १:५० बजे सऊदी अरबको शहर मदीना तर्फ प्रस्थान भयो। यात्रीहरूलाई विदा दिनका लागि हवाईअड्डामा आयोजित एक समारोहमा केन्द्रीय विदेश राज्य मन्त्री मीनाक्षी लेखी तथा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेना उपस्थित थिए। समारोहमा दिल्ली सरकारको न त कुनै मन्त्री न त दिल्ली हज कमिटीको विधायक कोटाबाट सदस्य हाजी यूनुस र अब्दुल रहमानले नै उपस्थिति दिए।
समारोहलाई सम्बोधन गर्दै मीनाक्षी लेखीले हज यात्रीहरूको पवित्र हज यात्राको निम्ति शुभकमाना दिइन्। उनले हज यात्रीहरूसित देशको विकास, उन्नति र शान्तिको निम्ति विशेष प्रार्थना गर्ने आग्रह गर्दै भनिन्, ‘देशको इतिहासमा पहिलो पटक ४३१४ महिलाहरू बिना ‘मेहरम’ हज यात्राको लागि गइरहेका छन्। यसले मोदी सरकारको नेतृत्वमा भइरहेको महिला सशक्तिकरणलाई दर्शाउँछ। दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले पनि हज यात्रीहरूलाई बधाई दिए तथा दिल्लीमा हज यात्रा अवधि कुनै प्रकारको असुविधा नहुने आश्वासन दिए। उनले भने, ‘दिल्लीका हज यात्रीहरूको लागि सर्वोत्कृष्ट सुविधाहरू उपलब्ध गराइँदैछl’ दिल्ली हज कमिटीकी चेयरपर्सन कौसर जहाँले हज यात्रीहरूको सफल र उत्तम यात्राको कामना गरिन्।
यस अवसरमा दिल्ली राज्य हज कमिटीका कार्यकारी अधिकारी अशफाक अहमद आरफी र उपकार्यकारी अधिकारी मोहसिन अलीसहित ठूलो संख्यामा केन्द्रीय अल्पसंख्यक कार्य मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय, विदेश मन्त्रालय, दिल्ली हज कमिटी तथा हज कमिटी अफ् इण्डियाका पदाधिकारीहरू उपस्थित थिए। स्मरण गराइन्छ, राजधानी दिल्लीबाट लगभग २२ हजार यात्रीहरू हज यात्राको निम्ति गइरहेको सूचना प्राप्त भएको छ। यसमा दिल्लीका २६८६ यात्री सामेल छन्। देशभरिबाट बिना मेहरम ४३१४ महिलाहरूले हज यात्रा गरिरहेका छन् जसमा दिल्लीका ३९ महिला सामेल छन्।









