गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आफ्नो ३१औँ स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका किपु छिरिङ लेप्चालाई ‘सिक्किम गौरव सम्मान २०२६’ प्रदान गर्ने घोषणा गरेको छ।
आगामी २६ फरवरीका दिन रम्फू खेल मैदानमा आयोजना हुने विशेष समारोहबीच उक्त सम्मान प्रदान गरिने संघले जनाएको छ। मानव विकास, सामाजिक उत्थान र सिक्किमका जनताप्रति दशकौँदेखि समर्पित सेवाका लागि लेप्चालाई सम्मानित गर्न लागिएको हो।
लेप्चा ह्युमन डेभलपमेन्ट फाउण्डेशन अफ् सिक्किमकीकी संस्थापक हुनुका साथै भारत सरकारबाट पद्मश्री सम्मान प्राप्त व्यक्तित्व हुन्। शिक्षा, महिला सशक्तिकरण तथा सामुदायिक विकासका क्षेत्रमा उनले पुर्याएको योगदानलाई राज्यव्यापी रूपमा उच्च मूल्याङ्कन गरिएको छ।
संघका पदाधिकारीहरूले शिक्षा, सशक्तिकरण र सामुदायिक विकासमा दीर्घकालीन प्रभाव पार्ने व्यक्तित्वलाई सम्मान गर्न पाउनु गर्वको विषय भएको बताएका छन्। स्थापना दिवस समारोहमा सिक्किमभरिका प्रतिष्ठित व्यक्तित्व, समुदायका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
खस संघले लेप्चाप्रति समाजप्रतिको अनुकरणीय सेवा र योगदानका लागि उच्च सम्मान र हार्दिक प्रशंसा व्यक्त गरेको छ।











