३०औं राज्य स्तरीय नेशनल चिल्ड्रेन साइन्स कंग्रेसमा भाग लिन घैयाबारीकी विद्यार्थी राखी छेत्री कोलकोता जाने

IMG-20221103-WA0261.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको नेताजी हाई स्कूलकी विद्यार्थी राखी छेत्री कोलकोतमा हुन गईरहेको ३०औं राज्य स्तरीय नेशनल चिल्ड्रेन साइन्स कंग्रेस प्रतियोगितामा भाग लिन गईरहेकी छन्। कोलकोताको विधान शिशु केन्द्र अल्टा दाङ्गामा आगामी ६ नोभेम्बरको दिन हुन गईरहेको ३०औं नेशनल चिल्ड्रेन साइन्स कंग्रेस राज्य स्तरीय प्रतियोगिता २०२२ मा भाग लिनलाई भोलि ४ नोभेम्बरको दिन प्रस्थान गर्ने भएको छ। घैयाबारीको नेताजी हाई स्कूलको दशौं श्रेणीकी विद्यार्थी एंव घैयाबारीको १४ माइल निवासी समीर छेत्री र संगिता छेत्रीकी सुपुत्री राखी छेत्रीले गत १६ अक्टोबरमा दार्जिलिङको घुममा भएको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेर राज्य स्तरीय प्रतियोगितामा पनि भाग लिने अवसर पाएकी छन्। उनले घुममा भएको जिल्ला स्तरीय प्रतियोगितामा आफ्नो टिम सदस्य सुस्मिता सुब्बासित मिलेर शिक्षिका निना खालिङको मार्ग निर्देशनमा ‘पगलाझोड़ाको पैह्रोले यस क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रमा पारेको प्रभाव’ विषयमा आफ्नो प्रदर्शनी प्रस्तुत गरेकी थिइन्। घुममा सम्पन्न कार्यक्रममा नेताजी हाई स्कूलको सह शिक्षक सुदिप गुरुङ पनि गएका थिए। उक्त विषयमा राखी छेत्रीले जिल्ला स्तरीय प्रतियोगितामा ३६ वटा स्कूलहरूका विद्यार्थीहरूसितै भाग लिएर राज्य स्तरीय प्रतियोगितामा पनि भाग लिने मौका पाएकी छन्। नेताजी हाई स्कूलकी दशौं श्रेणीकी विद्यार्थी राखी छेत्रीले कोलकातामा सम्पन्न राज्य स्तरीय प्रतियोगितामा भाग लिनलाई गईरहेको कारणले आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी स्कूलको शिक्षक प्रभारी दिनेश प्रधानको बाहुलीबाट खदार्पणसहित आगामी ६ नोभेम्बरमा कोलकोतामा हुने राज्य स्तरीय प्रतियोगिताको लागि शुभकामना दिइएको छ। उक्त कार्यक्रमलाई शिक्षिका निना खालिङले सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा नेताजी हाई स्कूलको शिक्षणकर्मीहरू, अशिक्षणकर्मीहरू र विद्यार्थीहरूको उपस्थित भएर विद्यार्थी राखी छेत्रीलाई शुभकामना व्यक्त गरिएको छ। राखी छेत्रीले नेताजी हाई स्कूल मात्र होइन तर सम्पूर्ण घैयाबारी र दार्जिलिङ पहाड़लाई नै गौरान्वित बनाएर दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै कोलकोतामा हुने राज्य स्तरीय प्रतियोगितामा सहभागी हुनलाई गईरहेकोमा सबैले खुशी व्यक्त गरेका छन्। विद्यार्थी राखी छेत्रीको यो उपलब्धि र आगामी ६ नोभेम्बरमा कोलकोतामा सम्पन्न हुने राज्य स्तरीय ३९औं नेशनल चिल्ड्रेन साइन्स कंग्रेस प्रतियोगितामा भाग लिने विषयमा नेताजी हाई स्कूलकी शिक्षिका निना गुरुङ, शिक्षक प्रभारी दिनेश प्रधान साथै विद्यार्थी राखी छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा बताएका छन्।

About Author

Advertisement