२१ औं चिफ मिनिस्टर गोल्ड कप आर्चेरी टुर्नामेन्टको समापन

arch_370

गान्तोकः गत १६ मईदेखि राजधानीस्थित ताथाङचेनमा आयोजित २१औं चिफ मिनिस्टर गोल्ड कप आर्चेरी टुर्नामेन्टको आज फाइनल खेल सम्पन्न भयो। आजको यस फाइनल खेलमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने मन्त्री केएन लेप्चा, मन्त्री सोनाम लामा, मन्त्री एमएन शेर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

गत 16 मईदेखि शुरू भएको यस प्रतियोगितामा कूल २६ वटा टोलीले सहभागिता जनाएको आयोजक समितिले जानकारी गराएको छ। आजको फाइनल खेल रत्न (भुटान) बनाम गरौडा सिक्किमबीच सम्पन्न भएको थियो, जसमा रत्न (भुटान) टोली बिजयी बन्यो। विजयी हुने टोलीलाई नगद २ लाख र उपविजयी टोलीलाई एक लाख गरेर प्रदान गरियो भने सोही प्रकारले मुख्यमन्त्री तामाङले पनि दुवै टोलीलाई धनराशि प्रदान गरे।

आजको यस प्रतियोगिताबारे बोल्दै खेलकूद एवम् युवा मामिला विभाग मन्त्री केएन लेप्चाले यस प्रतियोगिता भव्यरूपमा सफल भएको बताए। आर्चेरी खेल सिक्किमको पारम्पारिक खेल रहेको बताउँदै यस प्रतियोगितामा सिक्किम बाहिरबाट पनि धेरै टोलीले सहभागिता जनाएकोमा उनले धन्यवाद दिए। आज भन्दा धेरै वर्ष अघि बाँसको बनाएर खेल्ने गरेको तर समयको परिवर्तनसँगै सबै कुरामा परिवर्तन आएको अवगत गराए। खेलको माध्यमद्वारा भाईचाराको भावनालाई कायम राख्न सकिन्छ भने विश्वमा नै खेलको माध्यमद्वारा सबैमा भाइचारा कायम गर्न सकिने बताए। खेलको माध्यमद्वारा अनुशासन साथै खेलाडीहरूले अवसर पाउने जानकारी गराए। खेलको माध्यमद्वारा विश्वले नै सिक्किमबाट केही सिक्न सक्ने जनाए।

यसरी नै राज्य सरकारले आर्चेरी एकादमी खोल्नको निम्ति हालै सम्पन्न भएको बजेट सत्रमा धनराशि छुट्टाएको जानकारी गराए। विशेष गरेर खेलो इन्डिया अन्तर्गत विभिन्न स्कूलहरूमा पनि खेलहरू खेलाइने र अन्य खेलहरूमा पनि सिक्किमले राष्ट्रीय अन्तराष्ट्रीयस्तरको खेलाडी जन्माउन सक्ने मन्त्री लेप्चाले सम्भावना व्यक्त गरे। एसकेएम पार्टी सरकारमा आएपछि खेलकूदको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको किटान गरे।

-हिस

About Author

Advertisement