२० फरवरीको दिनमा एसकेएम पार्टीले सिङ्गताममा विजय उत्सव मनाउने

IMG-20230213-WA0033.jpg

गान्तोक: सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको दागलाई सधैंको निम्ति हटाउन सफल भएको भन्दै राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी 20 फरवरीको दिन पूर्व सिक्किमको सिङ्गताममा विजय उत्सव मनाउने भएको छ। यसै सम्बन्धमा आज सिङ्गताममा पार्टीको एउटा विशेष सभा बसेको थियो। सभामा उत्सवको तयारीलाई लिएर गहन छलफल गरिएको पार्टीले विज्ञप्ति जारी गरेर बताएको छ।

प्रचार सचिव रञ्जना प्रधानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ज्ञात रहोस गत 8 फरवरीको दिन दिशको सर्वोच्च न्यायालयले सिक्किमे मूलका नेपालीमाथि लागेको विदेशीको कलङ्कलाई सधैंको निम्ति हटाएको छ। यसको निम्ति देशका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र कानून मन्त्री किरण रिजीजू लगायत देशका श्रेष्ट अधिवक्ताहरूसित कुराकानी गरेर मुख्यमन्त्री पीएस गोलेले तत्काल कार्यवाहीको निम्ति सर्वोच्च न्यायालयमा समीक्षा याचिका दर्ता गर्नुभएको थियो। अन्ततः 8 फरवरी 2023को दिन सोही याचिकामाथि सुनवाई गर्दै सर्वोच्च न्यायालयले सिक्किमे मूलका नेपालीहरूमाथि लागेको विदेशीको दाग सधैंको निम्ति मेटाएको सर्वविदित छ। यसै खुशीमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले 20 फरवरीको दिन सिङ्गताम बजारमा भव्य विजय उत्सव एवं सम्मान कार्यक्रम गर्न लागेको हो।”

आजको सभालाई पार्टीका महासचिव तथा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेतीले अध्यक्षता गरेका थिए। यसरी नै सभामा मन्त्रीहरू एलबी दास, सञ्जित खरेल, एमएन शेर्पा, पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, प्रेस सचिव विकास बस्नेत साथै अन्यहरूको पनि विशेष उपस्थिति रहेको थियो।

आगामी विजय उत्सव कार्यक्रममा सिक्किमे मूलका नेपालीहरूमाथि लागेको विदेशीको दागलाई हटाउनमा दिएको योगदानको कदर गर्दै राज्यका मुख्यमन्त्री पीएस गोलेलाई अभिनन्दन जनाइने भएको छ। यसको साथै त्यस दिनका अन्य कार्यक्रमहरूलाई सफलतापूर्व सम्पन्न गर्न जिम्मेवारी बाँड़ने काम पनि आजको सभामा भएको छ। सभालाई सम्बोधन गर्दै प्रवक्ता तथा मिख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले नेपाली समुदायमाथि लागेको लाञ्छनालाई हटाउन राज्य सरकारले कस्तो कानुनी लड़ाई लड्यो भन्ने बारेमा जानकारी गराए। यसरी नै मुख्यमन्त्रीको केन्द्र सरकार र केन्द्रीय मन्त्रीहरूसित असल सम्बन्ध रहेको कारण यति छोटो अवधिमा .यति गम्भीर समस्याको समाधान भएको महासचिव तथा विधानसभा अध्यक्ष अरुण उप्रेतीले आफ्नो सम्बोधनमा बताए।

About Author

Advertisement