२० अगस्ट कारबोला बानरहाटमा हुने डुवर्सव्यापी भानु स्मरण तथा भाषा मान्यता दिवस समारोह

3378e8ae-701a-44aa-aba1-ec10c8690452

डा. सोनाम बी. वाङ्ग्येललाई दिइने पहिलो ‘डुवर्स गौरव सम्मान’

बाग्राकोटः वीरपाडास्थित चन्द्रवीर प्रधान स्मृति पुस्तकालयमा आयोजित डुवर्स नेपाली साहित्य विकास समितिको कार्यकारिणी कमिटीको सभाले आगामी २० अगस्त बानरहाटस्थित कारबोला चियाकमानमा २१ औं भाषा मान्यता दिवस तथा भानु स्मरण समारोह डुवर्सव्यापी रूपमा आयोजना गर्ने निर्णय लिएको छ। समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको सभापतित्वमा आयोजित यस सभाले उक्त कार्यक्रममा टिस्टादेखि सुनकोशसम्मका तमाम साहित्यिक संघसंस्था सदस्य र पूर्व पदाधिकारीहरूहरू साथै मुख्य अतिथिको रूपमा सिक्किमका प्रबुद्ध साहित्यकार तथा विचारक मेघनाथ दाहाललाई आमन्त्रित गर्ने मतो गरेको छ। सभामा कृष्णमाया मेमोरियल ट्रस्ट बाग्राकोटद्वारा डुनेसाविसको मञ्चमार्फत प्रदान गरिने पहिलो ‘ डुवर्स गौरव सम्मान’ इतिहासकार तथा प्रबुद्ध हस्ती डा. सोनाम बी. वाङ्ग्येललाई प्रदान गरिइने सर्वसम्मतिले निर्णय गरेको छ। अवगत गराइन्छ, डाक्टर सोनाम बी. वाङ्ग्येल प्रसिद्ध चिकित्सकसितै ख्यातिप्राप्त इतिहासकार पनि हुन्। चर्चाको घेराभित्र रहन अनिच्छुक वाङ्ग्येलको नाउँ सभामा अघि राख्दा सबै उपस्थितवर्गले सहर्ष समर्थन जनाए। कारबोलामा हुने प्रस्तावित कार्यक्रम बानरहाट मखमली समाज र स्थानीय मातृभाषाप्रेमी सजगवर्गको सहयोगमा आयोजना हुनेछ।
समितिका मूलसचिव रविन खवासले दिएको जानकारीअनुसार भानु जयन्तीको बेलामा पन्चायत चुनावको लहरले गर्दा भानु जयन्ती र भाषा दिवस एकसाथ ‘भानु स्मरण तथा भाषा मान्यता दिवस’ को रूपमा कारबोलाका सांस्कृतिककर्मीहरू र मखमली समाज बानरहाटसित मिलेर भव्यरूपले आयोजना गरिनेछ। पूर्व,पश्चिम र मध्य डुवर्सबाट उल्लेखनीय संख्यामा सहभागी बनेका पदाधिकारीहरूले २० अगस्तको कार्यक्रमबाहेक समितिलाई डुवर्सव्यापी र सुदृढीकरण गर्ने बारे बहुमूल्य विचार र सुझाव पेश गर्दै आगामी वर्ष हुने स्वर्ण जयन्ती समारोहलाई ऐतिहासिक ढंगले आयोजना गर्ने विषयमा पनि गम्भीर छलफल गरियो।

About Author

Advertisement