गान्तोक: जिल्लास्तरीय लागुऔषध विसर्जन समितिले मङ्गलबार नाम्ची जिल्ला अस्पताल परिसरमा जफत गरिएका नियन्त्रित तथा तस्करी गरिएका पदार्थहरू नष्ट गरेको छ।
समितिका अनुसार उक्त विसर्जन कार्य प्रमुख जिल्ला तथा सत्र अदालत, नाम्चीको अनुमति र निर्देशनअनुसार गरिएको हो। नष्ट गरिएका औषधिहरू सन् २०१८ देखि २०२५ सम्म सञ्चालन गरिएका विभिन्न अभियानका क्रममा जफत गरिएका थिए, जसमा २३ वटा मुद्दा समावेश रहेका थिए। ती सबै मुद्दामा कानुनी प्रक्रिया पूरा भइसकेको जनाइएको छ।
विसर्जन प्रक्रिया अस्पतालमा रहेको इन्सिनरेटरमार्फत गरिएको थियो, जसमा सुरक्षा, वातावरणीय तथा कानुनी मापदण्ड कडाइका साथ पालना गरिएको बताइएको छ।
नष्ट गरिएका वस्तुहरूमा स्पास्मो–प्रोक्सीभोन क्याप्सुल ७६,७९४ वटा, नाइट्रोसन १० ट्याब्लेट १,२०८ वटा, खोकी सिरप १,०४० बोतल र ब्राउन सुगर २४० ग्राम रहेका छन्।
कार्यक्रममा वरिष्ठ प्रहरी अधीक्षक सोनाम डोमा भोटिया, महकुमा अधिकारी वाङ्ग्याल शेर्पा, प्रमुख स्वास्थ्य अधिकृत जुनिता योञ्जन, अतिरिक्त प्रहरी अधीक्षक मणि कुमार तामाङ तथा अदालत निरीक्षक अनुपा गुरुङ लगायतको उपस्थिति रहेको थियो।








