राजगञ्ज: आज विद्यार्थीहरूले भारत-बङ्ग्लादेश सीमामा तैनाथ बीएसएफ १९५औं बटालियनका जवानहरूलाई राखी बाँधेर रक्षा बन्धन पर्व पालन गरे। फुलबारीको एउटा गैर सरकारी स्कुलका विद्यार्थीहरूले आज भारत-बङ्ग्लादेश सिमानामा तैनाथ रहेका बीएसएफ १९५औं बटालियनका जवानहरूको हातमा राखी बाँधिदिएर मिठाई खुवाइदिए। अर्कोतिर, सिलगढीको आनन्दधारा सङ्गीत स्कुलको तर्फबाट पनि भारत-बङ्ग्लादेश सीमा क्षेत्रमा पर्ने फुलबारीमा तैनाथ जवानहरूलाई राखी लगाइदिए। शिक्षिका सर्बानी दत्तले आज स्कुलका विदार्थीहरूलाई साथमा लिएर जवानहरूसित रक्षा बन्धन पर्व मनाउन आएको बताइन्। यी जवानहरू देश रक्षाको निम्ति खट्दै आइरहेका छन् भने आज रक्षा बन्धन पर्वको अवसरमा तिनीहरूलाई आफ्ना दिदी-बहिनी अनुपस्थिति महसुस नहोस् भनेर नै आफूहरूले आपसी दाजु-बहिनीको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै तिनीहरूलाई राखी लगाइदिएको बताइन्।









