सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा सुकना युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत सोमवार सुकना हाई स्कूल मैदानमा खेलिएको म्याचमा सुकना युनाइटेडले नादोङ भूटिया फूटबल एकाडमीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल करण मुण्डाले सातौं मिनटमा गरे। करण मुण्डाले प्लेयर अव् द म्याच को पुरस्कार जिते। मंगलवार खेलिने पहिलो प्री-क्वार्टर फाइनल म्याचमा जलपाइगढ़ी पुलिस र मिलन समिति, कलकत्ताबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ।

१८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









