१७३औं पादरी गङ्गा प्रसाद प्रधानको जन्म जयन्ती पालन

IMG-20240704-WA0298

विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान जनाइयो

गान्तोक: सिक्किम पादरी गङ्गा प्रसाद प्रतिष्ठानको तत्ववावधानमा आज गान्तोक स्थित मनन केन्द्रको प्रेक्षागृहमा १७३औं पादरी गङ्गाप्रसाद प्रधान जयन्ती भव्यतापूर्वक पालन गरियो। यस कार्यक्रममा सिक्किम सरकारका स्वस्थ्य एवं परिवार कल्याण विभागीय मन्त्री जीटी ढुंगल प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। अध्यक्ष कमल चामलिङ कामराङेले स्वागत सम्भाषणको क्रममा सबैलाई स्वागत जनाउँदै कार्यक्रमको ओैचित्यबारे प्रकाश पारेका थिए। आफ्नो सम्बोधनको क्रममा प्रमुख अतिथि जी टी ढुंगेलले कार्यकममा अभिनन्दित अनि सम्मानित व्यक्तित्वहरुलाई बधाई दिए। पादरीको जीवनबाट सबैले प्रेरणा लिनु पर्ने कुरा बताउँदै इसाईहरुले दैनिक जीवनमा पढने गरेका धर्म पुस्तक बाइबललाई २० वर्षको अथक परिश्रमपछि सरल नेपाली भाषामा अनुवाद गरेका विभूति पादरीले नेपाली भाषाको विकासमा महत्वपूर्ण योगदान दिएको कुरा अवगत गराए। संसारभरि छरिएर बसेका नेपालीहरुका निम्ति पादरी प्रेरणाको स्रोत रहेको उनले मन्तव्य प्रकट गरे।

कार्यक्रममा स्रोत वक्ताका रुपमा उपस्थित चुन्नीलाल घिमिरेले पादरीको जीवनमाथि प्रकाश पार्दै पादरीलाई पहिले ईसाइ धर्म प्रचारकको रुपमा हेर्ने गरिन्थ्यो तर कालान्तरमा आएर पादरीले तिनताकको शिक्षा, साहित्य अनि पत्रकारितामा पुऱ्याएको योगदानको उचित मुल्याङकन भएपछि यसरी पादरीको जन्म जयन्ती पालन गरिने गरेको बताए। पादरीले गोर्खे छापाखाना चलाएर प्रथम पत्रिका गोर्खा खबर कागत् प्रकाशित गरेको कुरा उल्लेख गर्दै यस पत्रिकाको प्रकाशन मिति ४ जनवरीको दिन पत्रकार दिवस पालन गरिनु पर्ने विषयमाथि प्रतिष्ठानले कार्य गरिरहेको पनि अवगत गराए।

कार्यक्रममा समितिको तर्फबाट लामो दशकदेखि राजनीतिको क्षेत्रमा योगदान पुऱ्याउँदै आएका मन्त्री जी टी ढुंगेल साथै मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङलाई अभिनन्दन जनाइयो। यसरी नै विभिन्न विधामा अमूल्य योगदान पुऱ्याएकोमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरियो। आध्यात्मको क्षेत्रमा रेभरेण्ड पीएस तिङमो, सामाजिक सेवाको क्षेत्रमा रेभरेण्ड सी. सोदेम्बा, साहित्यको क्षेत्रमा टेक बहादुर तामी, संगीतको क्षेत्रमा एल्डर जोहन डिक खवास , पत्रकारिताको क्षेत्रमा अर्पण प्रधान अनि शिक्षाको क्षेत्रमा जङ्गुस्थित लिङ्मु प्राथमिक पाठशालाई सम्मान पत्र प्रदान गरियो।

कार्यक्रमम चुन्नीलाल घिमिरेद्वारा पादरीको जीवनकारे तयार गरिएको वृतचित्र प्रदर्शन गरियो साथै कार्य्रक्रममा गान्तोक ईपीसीएस चर्चका क्वायर झुण्डले पादरीद्वारा रचित गीत ‘प्रभु अर्जी सुनिलेऊ, गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ’ लाई प्रस्तुत गरेका थिए भनेदेखि इसाई जगतकी प्रसिद्ध गायिका मेरिना भोटियाले पादरी विषयमा गीत प्रस्तुत गरेकी थिइन् साथै युवा कवि ख्रीष्टा छितेन लेप्चाले पादरीको बारेमा लेखिएको कविता वाचन गरेकी थिइन्।

About Author

Advertisement