पाकिम: १३औँ लामपोखरी पर्यटन महोत्सव २०२६ शनिवार बिजनेस-टू-बिजनेस (बीटूबी) मीटसँगै सफलतापूर्वक सम्पन्न भएको छ। महोत्सवको समापन समारोहमा पर्यटन एवं नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्गपा मुख्य अतिथि थिए।
समारोहलाई सम्बोधन गर्दै लाचुङ्गपाले राज्यमा पर्यटन क्षेत्रलाई सुदृढ़ बनाउने मुख्यमन्त्रीको दृष्टिकोणमाथि प्रकाश पारे र पर्यटन पहलहरू प्रवर्द्धन गर्न सरोकारवालाहरू र सम्बन्धित विभागबीच समन्वय आवश्यक रहेको बताए। उनले सफल व्यवसाय निर्माणका लागि यूनिक सेलिङ प्रपोजिशन (युएसपी) विकास गर्न र आगन्तुकलाई वास्तविक अनुभव दिने उद्देश्यले स्थानीय परम्परा र सम्पदाको उपयोग गर्न सरोकारवालाहरूलाई प्रोत्साहित गरे।
मुख्य अतिथिले सिक्किम इन्स्पायर्स अन्तर्गत कार्यान्वयन भइरहेका कौशल अभिवृद्धि र क्षमता विकास कार्यक्रमको बारेमा पनि जानकारी दिए र युवा पुस्तालाई पर्यटन पारिस्थितिक प्रणालीको सेवा स्तर सुधारमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे।
पर्यटन एवं नागरिक उड्डयन विभागकी उपनिर्देशक सुष्मा प्रधानले व्यापार क्षेत्रमा महिला उद्यमीहरूको सहभागिताको सराहना गर्दै क्षेत्रका लुकेका विरासतलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याइन्।

आयोजक समितिका अध्यक्ष ललित राईले महोत्सवको उद्देश्य विविध पर्यटन क्षेत्रका सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउनु रहेको बताए। समारोहको अवसरमा अतिथिहरूले माङखिम र ओल्ड रुट म्युक ट्रेकिङ ट्रेलको भ्रमण पनि गरे। साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे।








