१५ जूनः भारतकी स्टार स्प्रिण्टर (धाविका) हिमा दास अप्रेलमा लागेको ह्यामस्ट्रिंगको चोटलेग गर्दा चीनमा हुने आउँदो एशियन गेम्सबाट बाहिर भएकी छन्। भारतीय एथलेटिक्सका मुख्य प्रशिक्षक राधाकृष्णा नायरले यस खबरको पुष्टि गरेका छन्। तेईस वर्षीय हिमाले २०१८-को जकार्ता एशियन गेम्समा ४०० मीटरको दौड़मा रजत पदक जितेकी थिइन्। यसको साथमा उनी स्वर्ण पदक जित्ने महिलाहरूकी चार गुणा ४०० मीटर अनि मिश्रित चार गुणा ४०० मीटर रिले टीमको पनि हिस्सा थिइन्। नायरले भने, उनलाई अप्रेलमा बेंगलुरुमा इण्डियन ग्रां.प्री. ४-को एक दिन अघि चोट लागेको थियो। हिमा अहिले पनि ह्यामस्ट्रिंगको चोट र कम्मरको पीढ़ासँग जुझिरहेकी छन्। मेडिकल जाँच चलिरहेको छ अनि एएफआई-को नीतिअन्तर्गत उनले एशियन गेम्समा हिस्सा लिन नसक्ने लागिरहेको छ।
चोटले गर्दा हिमाले गत महिना राँचीमा भएको फेडरेशन कपमा पनि हिस्सा लिन सकिनन्। त्यस समय नायरले राष्ट्रिय अन्तर प्रान्त च्याम्पियनशीपमा हिस्सा लिनको निम्ति हिमा फिट हुने आशा व्यक्त गरेका थिए, जुन हांगझोउमा हुने एशियन गेम्सको अन्तिम चयन टुर्नामेण्ट हो। विशेष छूट पाएका खेलाड़ीहरूलाई छोड़ेर अन्य सबै एथलीटले बिहीवारदेखि भुवनेश्वरमा शुरु हुने राष्ट्रिय च्याम्पियनशीपमा हिस्सा लिनु पर्ने भारतीय एथलेटिक्स महासंघले स्पष्ट रूपमा बताएको थियो। यस्तो गरेर मात्र खेलाड़ीहरू एशियन गेम्समा चयनको दावेदार हुनेछन्। टोक्यो ओलम्पिकमा स्वर्ण पदक विजेता ज्याभलिन थ्रो खेलाड़ी नीरज चोपड़ा र २०२२ कमनवेल्थ गेम्समा ३००० मीटर स्टीपलचेजमा रजत पदक जित्ने अविनाश साबलेलाई चाहिँ छूट प्राप्त भएको छ।









