होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

Photo-1-3

काठमाडौं: ‘कोही पनि नछुटुन, सबैका लागि समानता, स्वतन्त्रता र न्याय’ भन्ने नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ। प्रत्येक वर्ष १७ मईमा विश्वव्यापी रूपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले हर्षोल्लासका साथ मनाउँदै आएको छ। १७ मईको अवसरमा मितिनी नेपालले आयोजना गरेको होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार उपसभामुख इन्दिरा राना, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सम्बोधन गरे। उनीहरुले सबै वर्ग, लिङ्ग, जात र यौनिकता भएका व्यक्तिहरुलाई समान अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए।

सन् १९९० मई १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा भएको दिनलाई स्मरण गर्दै विश्वव्यापी यो दिवस मनाउने गरिएको मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले बताइन्। शुक्रबारको कार्यक्रममा मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले डेढ दशकयता नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि लड्दै आइरहेको उल्लेख गर्दै अझै प्रशस्त कानुनी र नीतिगत निर्णयमार्फत समुदायको अधिकार स्थापित गर्नुपर्ने औंल्याइन्। कार्यक्रमका अवसरमा समुदायका व्यक्तिहरुको संघर्षको कथा समेटिएको ‘कोही पनि नछुटुन, सबैका लागि समानता, स्वतन्त्रता र न्याय’ नामक पुस्तक पनि सार्वजनिक गरियो।

About Author

Advertisement