“हामी नेपाली हौं भन्दिनुपर्छ बारम्बार, कसले सोधेको छ र हामी कुन देशका हौं?”: अगमसिंह गिरी

IMG-20250411-WA0135(1)

राजेश ढकाल

केही दिनदेखि म यो घटनालाई शान्त रूपमा अवलोकन गरिरहेको थिएँ। तर जब मैले केशवराज दाज्युको भनाइ सुनेँ र क्षेत्रका केही पुराना शैक्षिक व्यक्तित्वहरूसँग कुराकानी गरेँ, तब म उहाँहरूका दृष्टिकोण बुझ्नतिर आकर्षित भएँ। विशेषगरी, दार्जीलिङ र डुवर्सका नेपाली, लेप्चा, भोटिया जस्ता भाषिक अल्पसंख्यक समुदायका शैक्षिक समस्याहरूले मेरो ध्यान खिच्यो। यिनै समुदायहरू, जसको मातृभाषा बंगालको प्रमुख भाषा बंगाली वा औपचारिक शिक्षामा प्रयोग हुने अंग्रेजीभन्दा फरक छ, शिक्षक नियुक्तिमा आफ्नो पहिचान र आवश्यकता प्रतिबिम्बित भएको देख्न चाहन्छन्। त्यही सन्दर्भमा मैले ती विचारहरू संकलन गर्दै एउटा अनुच्छेद तयार पारें। तपाईंहरू सहमत वा असहमत हुन सक्नुहुन्छ, तर मैले न त कसैको पक्ष लिएँ, न विपक्ष—मात्र आफ्नो व्यक्तिगत अनुभूति अभिव्यक्त गरें।
आज केशवराज दाज्यूले उठाउनुभएको विषयलाई केहीले ‘मुद्दा डाइभर्ट गर्ने खेल’ भनेर खारेज गरिरहेका छन्। तर यो कुरा असम्भव हो भनेर भन्न सकिन्न। टाढा जानु पर्दैन, डुवर्सलाई नै हेरौं। १९९७ सालसम्म डुवर्सका नेपाली स्कुलहरूमा ‘गाईलाई गोरु’ भन्ने शिक्षकहरू नियुक्त गरिन्थे, जसको पहिलो वा दोस्रो भाषा नेपाली नै थिएन।
डुवर्सका नामुद शिक्षाविद् तथा साहित्यकार कितापसिंह राईले १९९५ मा डुवर्सभरिका नेपाली स्कुलहरूमा सर्वेक्षण गरेर एउटा ‘केस स्टडी’ पुस्तक नै प्रकाशित गर्नुभएको छ। यदि तपाईं यो ठोकुवा गर्नुहुन्छ कि नेपाली स्कुलमा अनेपाली (नेपाली भाषा नजान्ने) शिक्षक आउनै सक्दैनन् भने, कृपया डुवर्सका बुद्धिजीवीहरूको पुस्तक पढ्नुहोस्। कोलकाता हाई कोर्टमा यस विषयमा परेको मुद्दाको इतिहास हेर्नुहोस्। सन् १९९७ मा कोलकाताको एस्प्लानेडमा ५० भन्दा बढी शिक्षित युवाहरूले गरेको आन्दोलनको कथा पढ्नुहोस्। त्यही संघर्षको जगमा आज डुवर्सका नेपाली स्कुलमा नेपाली शिक्षकहरू नियुक्त हुन थालेका हुन्।
डुवर्सका बुद्धिजीवीहरूले यस्ता शैक्षिक अतिक्रमणमाथि इतिहास नै लेखेर गएका छन्। कागजातहरू, तथ्यहरू, आँकडाहरू, पुस्तकहरू—सबै उपलब्ध छन्। केवल खोज्ने कष्ट गर्नुहोस्। डुवर्सकै एक लेखकले त व्यङ्ग्यात्मक उखान बनाएका छन्: “गोरुले दूध दिएको हेर्नु छ भने डुवर्स जानू।” त्यो आफैँमा यथार्थ छ।
अब भन्नुहोस्, जब हामी आफ्नै आँखाअगाडि यस्तो नियुक्ति देखिरहेका छौं, तब हामी किन यो विषयमा केवल एकपक्षीय सोच राखिरहेका छौं? ‘सासु कसरी मरिन्’ होइन, ‘काल कसरी पल्कियो’ भनेर टाउकोमा हात राख्नुपर्ने दिन आउँदैन भन्न सकिन्न। डुवर्स पनि बंगालमै पर्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन।
तपाईंहरू सबै ज्ञानी हुनुहुन्छ। ज्ञानीले सत्य तथ्यमा विश्वास गर्नुपर्छ। अफवाह र प्रचारवादीहरूको कुरा पत्याउनु अघि, थोरै भए पनि आफ्नै ज्ञान प्रयोग गरौं। आगो लागेपछि कुवा खनाउनु बुद्धिमानी होइन।

About Author

Advertisement