हल्दीबारी (झापा): झापाको हल्दीबारी गाउँपालिकाले सुशासन र पारदर्शिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीयवासीले पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटनका क्षेत्रमा आफ्ना जिज्ञासा र गुनासो राखेका थिए।
सुनुवाइमा सहभागी १४ जना स्थानीयले पालिकाको समग्र विकास र सेवा प्रवाहसँग सम्बन्धित करिब ४० वटा प्रश्न उठाएका थिए। सहभागीहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) सहित वडा अध्यक्षहरू देवीबहादुर थापा, शुक्लाल राजवंशी, विष्णुप्रसाद ओली, सन्त कुमार थापा र खड्ग लावतीले दिनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हल्दीबारीले जनताका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर विकास निर्माणका कामलाई प्राथमिकता दिएको बताउनुभयो। “सबै राजनीतिक दलको साझा सहकार्य र सहयोगकै कारण हल्दीबारी ‘असल अभ्यास’ कार्यक्रम अन्तर्गत झापा जिल्लामै प्रथम हुन सफल भएको छ,” लिङ्देनले भन्नुभयो, “यो उपलब्धिमा सम्पूर्ण पालिकावासीको अपनत्व छ।”
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले पालिकाले आर्थिक मितव्ययिता अपनाउँदै सीमित बजेटबाट अधिकतम उपलब्धि हासिल गर्ने प्रयास गरिरहेको उल्लेख गर्नुभयो। उहाँले थप बजेट प्राप्तिका लागि सबै राजनीतिक दलहरूलाई रचनात्मक भूमिका खेल्न र समन्वय गर्न आग्रह समेत गर्नुभयो।
सार्वजनिक सुनुवाइमा नेपाली कांग्रेसका सभापति गंगा प्रसाई, राप्रपा अध्यक्ष एकराज राणा मगर, नेकपाका अध्यक्ष खगेन्द्र राजवंशी, जलथल खानेपानीका अध्यक्ष केदार प्रसाद उप्रेती, हल्दुवारी उपाध्यक्ष हर्क तामाङ र दिपेन्द्र आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सन्तोष कुमार मेचेले जिज्ञासा राख्नुभएको थियो। त्यस्तै स्थानीय अगुवाहरू धर्मराज शिवाकोटी, लालबहादुर कन्दङ्वा, कैदी माबो तथा सञ्चारकर्मीहरू इन्द्र मुखिया र लेखनाथ परदेशी लगायतले पालिकाको समग्र विकासका पक्षमा प्रश्न राख्नुभएको थियो।
युनेस्को संघ नेपालको सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।









