‘उत्ताल तरङ्गित छाल हुँ
बुझेऊ? म हरिभक्त कटुवाल हुँ।‘
रुद्र बराल, असम-
आज कटुवालको ८८औँ जन्म दिन। हरिभक्त कटुवालको। असमको नेपाली कवितालाई आधुनिकतावादी धारामा रमाउने मौका दिने कटुवाल, नेपाली कवितालाई प्रयोगवादी क्लिष्टताबाट सरलतातिर ओह्राल्ने कवि। कविताकै माध्यमबाट ढुङ्गो बोलाउन खोज्ने, कवितालाई क्रान्ति गराउन सडकमा उतार्ने कवि। सडक कविता क्रान्तिका सरिक। जनकवि। गीतकार, गायक, अभिनेता, चित्रकार, कवि, कथाकार, नाटककार, अनुवादक, निबन्धकार, बहुआयामिक प्रतिभाका धनी, बहुभाषी कटुवाल। असमेली गीत र कवितामा जातीय अस्मिताको धारा ल्याउने कटुवाल। उनै कटुवाल जसले भुइँचालो ल्याउने कविता लेखे, मट्टितेल भएर गरिबको घरको अँध्यारो हटाउने कविता लेखे, भोको ज्यामीको वेदना पोखे कवितामा। उनै कटुवाल जसले ग्लानी खप्न नसकेर जीवन त्याग्न तत्पर भएकी सुधालाई बाँच्ने प्रेरणा दिँदै भने –
‘जीवन एक खेलाची होइन, सुधा तँ व्यर्थै फेरि नहार‘
उनले मृत्युलाई कीर्तिले जीत्ने प्रेरणा दिए।कहिले हाँसे, कहिले रोए। कतै विद्रोही बने, कतै निराशाको राग अलापे। जे देखे त्यही लेखे। यथार्थको वरिपरि घुमेर। समस्याको उचालिनसक्नु पहाड बोकेर। हण्डर खाएर। दुख पाएर। कटुवाल बिनाको असमेली नेपाली साहित्य अधुरो, टुहुरो। कटुवालका कृति – सम्झना, सुधा, भित्री मान्छे बोल्न खोज्छ, यो जिन्दगी खै के जिन्दगी, बदनाम मेरा यी आँखाहरू, स्पष्टीकरण, धेरै असङ्कलित लेख, नाटक, गीत, चित्रहरूले उनलाई जीवित राख्ने छन्। धेरै बान्की परेका कविता लेख्ने कटुवाल ‘बान्की’ का सम्पादक। कवितामा जीवन अभिव्यक्त गर्ने कवि, ‘अभिव्यक्ति’का सम्पादक।थोरै समयमा उनले धेरै गरे। तर उनको जिन्दगी उनकै कविता जस्तो ‘भित्र भित्रै पाकेको’ थियो। उनकै कविता जस्तो छोटो थियो। पैँतालिस पङ्तीको। २ जुलाई १९३५ देखि १० सेप्तेम्बर १९८० सम्मको जीवनकाल। लखिमपुरको खोवाङ, बरबिलदेखि डिब्रुगढ मेडिकेलसम्मको जीवन परिक्रमा। उनी असमयमै बिते। असममै बिते। युवा अवस्थामै। ठिक ‘ यो जिन्दगी खै के जिन्दगी’ भनेझैँ। हुन त कटुवालले भनेकै हुन्-
‘मुटु लुकाई पीर रुने न्यानो काख छैन
यति धेरै साथी छन् आफ्नो खास छैन‘
उनको यो निसङ्गता वास्तविक हो। उनले इप्सित सहयोग पाएनन्। मानिसहरू स्वार्थी हुन्छन्, मौकावादी हुन्छ। स्वार्थ पूरा भएपछि भाग्छ्न्। एउटालाई चुसेर अर्कोलाई ढोग्न पुग्छ्न्।त्यसैले होला उनले –
‘मन त फलामकै भए असल हुन्छ
न घात-प्रतिघातमा रुन्छ
न सयपत्री बाबारीले बाटो थुन्छ‘
भन्दै मन फलामको बनाउन चाहे, तर सकेनन्। कटुवाल जयन्तीको सुअवसरमा उनीप्रति हार्दिक नमन।









