खरसाङ: स्व. मोहन कुमार राईको अन्त्येस्टी कार्यको दिनमा खरसाङ महकुमा खेलकूद संघ अनि खरसाङको नयाँ बस्ती फूटबल क्लबका सदस्यहरुलाई लिएर एउटा संयुक्त सभा सम्पन्न भयो। बिशेष यो सभा स्व मोहन कुमार राईको स्मृतिमा श्रद्धाञ्जलीपूर्वक खेलाउने दुई दिवसीय खेलकूद उत्सवलाई लिएर गरिएको थियो। यस संयुक्त सभालाई खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले सञ्चालन गर्दै यस दुई दिवसीय खेल उत्सवबारे बिस्तृत रुपमा एउटा रिपोर्ट सभा समक्ष प्रस्तुत गरेका थिए। सचिव गुरुङको प्रस्तुत रिपोर्टदेखि नयाँ बस्ती फुटबल क्लबका सभापति, सचिव, कोषाध्यक्ष लगायत अन्य सदस्यहरुले पनि सहमति जनाए भने आउने केही दिनमा नै उनीहरुले यस विषयलाई लिएर क्लबको एउटा सभा राख्ने अनि खेलकूद संघलाई जानकारी दिने भएको छ। यस सभालाई खरसाङ महकुमा खेलकूद संघका उपाध्यक्ष फुर्बा घिसिङ अनि पूर्व सचिव एवं वर्तमान सल्लाहकार दावा गोलेले पनि सम्बोधन गर्दै स्व. मोहन कुमार राई खेलकूद भनेपछि मरिमेट्ने व्यक्ति रहेकोले उनको स्मृतिमा श्रद्धाञ्जलीस्वरूप दुई दिवसीय खेल उत्सवको आयोजना गर्नु साँचो रुपमा एक खेलप्रेमीलाई श्रद्धाञ्जली हुने उनीहरुले बताएका छन्। यस सभामा संघको तर्फबाट संघका अध्यक्ष मोहन योञ्जन, प्रमुख संरक्षकद्वय टीटी लामा अनि एसबी सुनवार, कोषाध्यक्ष बसन्त सिंह, संघका तक्निकी एवं कार्यकरी सदस्यहरु पनि उपस्थित रहेका थिए। ज्ञात रहोस् स्व मोहनकुमार राईको मृत्यु उपचाराधीन अवस्थामा गत १३ मार्चको दिन खरसाङ महकुमा अस्पतालमा भएको थियो। खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले जानकारी दिए अनुसार स्व मोहनकुमार राईको स्मृतिमा श्रद्धाञ्जली स्वरूप खेलाइने यस दुई दिवसीय खेल उत्सव आगामी १६ अनि १७ मई २०२६ मा स्व. राईकै गाउँ खरसाङको नयाँ बस्तीमा आयोजना गरिने भएको छ भने आगामी विधानसभा चुनावको कारण अप्रेल महिनामा खेलाइनु पर्ने खेल प्रतिस्पर्धाहरुलाई एक महिनाको निम्ति स्थगित गरिएको पनि खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी दिएका छन्।










