स्वस्थ नारी सशक्त परिवार अभियानअन्तर्गत वृहत सवास्थ्य शिविर

IMG-20250926-WA0193

पाकिम: महिल र बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्न देशव्यापी पहल स्वस्थ नारी सशक्त परिवार अभियान (एसएनएसपीए) को हिस्साको रूपमा, पाकिम जिल्लाको स्वास्थ्य र परिवार कल्याण विभागद्वारा आज स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) मा जिल्लास्तरीय वृहत स्वास्थ्य शिविर आयोजना गरियो। शिविरमा क्षेत्र विधायक एवं सामाजिक कल्याण विभाग र महिला, बाल, वरिष्ठ नागरिक तथा दिब्याङ्जन कल्याण विभागकी सल्लाहकार श्रीमती पामिन लेप्चा मुख्य अतिथि रहेकी थिइन्। उनले अभियानको अवलोकन प्रस्तुत गर्दै मातृ र बाल हेरचाहमा केन्द्रित रहेर परिवारको कल्याणलाई सुदृढ गर्ने उद्देश्यबारे जानकारी दिइन भने अभियानको अवधि र महत्त्वबारे पनि प्रकाश पारिन्। यसको साथै उनले राज्यमा घट्दो प्रजनन दरप्रति चिन्ता व्यक्त गर्दै चिकित्सा पेशेवरहरूलाई महिलाको स्वास्थ्यबारे जनचेतना बढाउन आग्रह गरिन्।
कार्यक्रमका सहभागी र योगदानकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्दै पाकिम प्राथमिक स्वास्थ्य केन्द्रका मुख्य चिकित्सा अधिकारी डा. मदनमणि धकालले आफ्नो छोटो सम्बोधनमा स्वस्थ नारी सशक्त परिवार अभियानबारे जानकारी गराए। उनले यो कार्यक्रम महिलाहरूलाई समर्पित रहेको र सही सशक्तिकरण राम्रो स्वास्थ्यबाट सुरु हुने बताए। स्वस्थ भएमा मात्र महिलाहरूले समाजमा प्रभावकारी रूपमा योगदान दिन सक्ने उनले थप बताए।
शिविरको क्रममा श्रीमती पामिन लेप्चाले निर्वाचन क्षेत्रका वृद्धवृद्धा लाभार्थीहरूलाई आयुष्मान भारत – प्रधानमन्त्री जन आरोग्य योजना (एबी–पीएमजेएवाई) स्वास्थ्य कार्ड औपचारिक रूपमा हस्तान्तरण गरिन्। दिनभरिको शिविरमा गैर–सङ्क्रामक रोग (एनसीडी) स्क्रीनिङ, क्यान्सर स्क्रीनिङ, आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना (एबी–पीएमजेएवाई) कार्ड निर्माण र आयुष्मान भारत डिजिटल मिसन (एबीडीएम) अन्तर्गत आयुष्मान भारत स्वास्थ्य खाता (एबीएचए) कार्ड जारी गर्ने जस्ता स्वास्थ्य सेवाहरू प्रदान गरियो।
शिविरमा स्त्रीरोग विशेषज्ञ, ईएनटी (कान, नाक र घाँटी) विशेषज्ञ, बालरोग विशेषज्ञ र हाड़जोर्नी विशेषज्ञहरूले परामर्श प्रदान गरे र बिरामीहरूको स्वास्थ्य समस्याहरू सम्बोधन गरे। शिविरको क्रममा मुख्य चिकित्सा अधिकारीले स्वस्थ नारी सशक्त परिवार अभियानको शपथ पनि ग्रहण गराए।

About Author

Advertisement