गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज इन्दिरा बाइपासस्थित पार्टी मुख्यालमा एसडीएफ अध्यक्ष पवन चामलिङकी माता स्वर्गीय आशरानी चामलिङलाई श्रद्धा सुमन अर्पण गर्दै शोक सभाको आयोजना गर्यो।
वरिष्ठ उपाध्यक्ष डीबी थापाको सभापतित्वमा सम्पन्न शोक सभामा उपस्थित पार्टीका नेतृत्वगण, पदाधिकारीगण एवम् कार्यकर्ता र सहयोद्धाहरूले स्वर्गीय माताको तस्बिरमा पुष्पाञ्जली अर्पण गरे।
सभाअध्यक्ष डीबी थापाले आफ्नो छोटो सम्बोधनमा सम्पूर्ण पार्टीको तर्फबाट परोलोकी मातालाई श्रद्धाञ्जली अर्पण गर्दै आज यस दुःखको घडीमा सम्पूर्ण पार्टीनै शोकसन्तप्त परिवारसँग खडा रहेको छ भने। उनले पवन चामलिङजस्तो जनप्रिय नेतालाई जन्म दिनुहुने माता एकजना पूण्यात्मा हुनुहुन्थ्यो र उहाँको त्याग र तपस्यले नै हामीले पवन चामलिङजस्तो नेता पाएका छौँ भने।
यसभन्दा अघि दीवङ्गत माताको आत्मा शान्तिका निम्ति उपस्थित सबैले मौन धारण गरेको जानकारी एसडीएफ प्रचार प्रसार महासचिव जुडी राईले प्रेस विज्ञप्तिमा जनाएकी छन्।










