स्यारी निर्वाचन क्षेत्रमा आयोजित चार दिवसीय स्वास्थ्य शिविरको समापन

IMG-20230410-WA0169-11-300x172-4.jpg

गान्तोक: गत १७ फरवरीदेखि स्यारी निर्वाचन क्षेत्रमा आयोजित स्वास्थ्य जाँच शिविरको आज समापन भयो। स्यारी निर्वाचन क्षेत्रको एसकेएम स्वास्थ्य प्रकोष्ठद्वारा आयोजना गरिएको चार दिवसीय स्वास्थ्य जाँच शिविरमा विशेष गरेर नेपालको मेची नेत्रालयबाट नेत्र विशेषज्ञहरू आएका थिए।

क्षेत्र विधायक एवम मन्त्री कुङ्गा निमा लेप्चाको सहयोगमा आयोजित यस स्वास्थ्य शिविरबाट धेरै मानिसहरूले लाभ उठाएको मन्त्रीले जानकारी गराएका छन्।

पत्रकाहरूसँग कुराकानी गर्दै मन्त्री लेप्चाले स्यारी निर्वाचन क्षेत्रका जनताको समस्यालाई ध्यानमा राख्दै नेपालबाट चिकित्सकहरू ल्याएको बताए। नेपालबाट आठजना नेत्र विशेषज्ञहरू आएको र उनीहरूले स्थानीयहरूको आँखा जाँच गरेकोमा धन्यवाद दिएका छन्। यस शिविरमा जाँचको क्रममा यदि कसैको आँखा शल्यक्रिया गर्न परेको खण्डमा मन्त्रीले सरकारको खर्चमा उनीहरूलाई मेची अस्पतालमा लगेर निःशुल्क शल्यक्रिया गराउने अवगत गराए।

राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा सञ्चालन भइरहेको सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिँदै आइरहेको उनले जानकारी गराए। उनको निर्देश बमोजिम नै आफूले यस निर्वाचन क्षेत्रमा स्वास्थ्य जाँच शिविरको आयोजना गरेको उनले थप बताए। यस शिविरबाट धेरै जना मानिसहरूको आँखाको रोग पत्तो लागेको र उनीहरू सबैलाई शल्यक्रियाको निम्ति मेची लाने व्यवस्था गरिने मन्त्री लेप्चाले जानकारी गराए।

उल्लेखनीय छ, गत १७ फरवरीको दिन मिडल स्यारी प्राथमिक पाठशालामा स्वास्थ्य शिविर आयोजना गरिएको थियो भने सोही प्रकारले १८ फरवरीको दिन नान्डोकमा, १९ फरवरीको दिन भुसुक नैताम र आज 20 फरवरीको दिन चानमारीस्थित एसकेएम पार्टी कार्यालयमा आयोजना गरिएको थियो।

About Author

Advertisement