गान्तोक: सिक्किमका स्थानीय बालीहरूको उपयोग गर्दै बेकरी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने प्रदर्शन तथा सीप विकास कार्यक्रम मार्च १२ देखि १४, २०२६ सम्म लोअर नान्डोक, रानीपुलमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना कलेज अफ एग्रिकल्चरल इन्जिनियरिङ एण्ड पोस्ट हार्भेस्ट टेक्नोलोजी, रानीपुलले दिव्य ज्योति समाजसँग सहकार्यमा स्वयं सहायता समूह (एसएचजी) का सदस्यहरूका लागि गरेको थियो।
तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई स्थानीय रूपमा उपलब्ध बालीहरूको प्रयोग गरी बेकरी तथा मूल्य अभिवृद्धि गरिएका खाद्य उत्पादन तयार गर्ने व्यावहारिक सीप प्रदान गर्नु रहेको थियो। कार्यक्रम प्रसंस्करण तथा खाद्य अभियान्त्रिकी विभागका पाठ्यक्रम निर्देशक डा. इन्दु र सह-पाठ्यक्रम निर्देशक डा. अङ्गमरालेङको मार्गदर्शनमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा तीनवटा स्वयं सहायता समूहबाट ४७ जना सहभागीहरूले सक्रिय रूपमा भाग लिएका थिए। तालिमका क्रममा मफिन, कुकी, केक, मिलेट दूध तथा मल्टिग्रेन लड्डुजस्ता परिकारहरूको प्रयोगात्मक (ह्यान्ड्स-अन) प्रदर्शन गरिएको थियो, जसले मिलेटजस्ता स्थानीय बालीहरूको पोषणीय तथा आर्थिक सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको समापन समारोह २३ स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ नोर्बु लाम्थाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा लोअर नान्डोककी पञ्चायत रिन्जिङ डोमा लेप्चा तथा दिव्य ज्योति समाजका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरूले स्थानीय बालीहरूको मूल्य अभिवृद्धिमार्फत सीप विकास र जीविकोपार्जन प्रवर्द्धन गर्ने पहलको सराहना गरेका छन्।









