गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सोरेङ जिल्लाको नव नियुक्त कार्यकारी समितिको समन्वय एवं परिचयात्मक कार्यक्रम आज च्याखुङस्थित पार्टी कार्यलयमा सम्पन्न भयो। कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्याक्ष प्रभारी आरबी सुब्बा, उपाध्याक्ष प्रभारी सोरेङ जिल्ला डीबी गुरूङ, राज्य स्तरीय उपाध्याक्ष प्रभारी संगठन प्रकोष्ठ ओटी लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव, पार्टी प्रवक्ता जेकब खालिङ लगायत अन्य नेतृत्वहरु उपस्थित थिए। कार्यक्रममा एकाअर्कामा परिचय अदान प्रदान गर्नका साथै भावी कार्यक्रम र योजनाहरूबारे चर्चा गरिएको थियो। यस अघि सबै नवनियुक्त पदाधिकारीहरूले आफुहरूलाई प्रदान गरिएको जिम्मेवारीको निम्ति पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता तथा आभार जनाउँदै पार्टीको दिग्दर्शनमा रहेर जनताको काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।









