सोरेङ: सोरेङ जिल्लाको दरमदिन समष्टिस्थित लुन्चोक माध्यमिक विद्यालय परिसरमा हरितालिका तीज महोत्सव-२०२२ नेपाली संस्कृति संरक्षण संघ लुन्चोकको तत्वावधानमा भव्यरूपमा आयोजना गरियो। आज आयोजित महोत्सवमा मुख्य अथितिको रूपमा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ उपस्थित थिइन भने उनको साथमा पावर एडभाइजरी बोर्डका अध्यक्ष मिङ्मा लमु भोटिया, स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, पूर्वमन्त्री रण बहादुर सुब्बा, पूर्व विधायक डीएन शेर्पा लगायत समष्टिका नारीहरुको उत्साहजनक बाक्लो उपस्थिति थियो।

तीज पर्व महिलाका लागि निकै महत्त्वपूर्ण पर्व हो। तीज पर्वको आफ्नै विशिष्ट गरिमा र पृष्ठभूमि छ। तर आधुनिकता सँगसँगै तीज पर्वमा पनि धेरै विकृति आइरहेको छ। यस्तो अवस्थामा नेपाली संस्कृति संरक्षण संघ लुन्चोक शाखाले पारम्परिक रूपमा तीज पर्व मनाउनु आउँदो पीढीको निम्ति निश्चितरूपमा राम्रो दर्शन बन्नेछन्। हरितालिका तीज महादेवको पूजा आराधना गरी धुमधामसँग मनाइन्छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउने पारम्परिक चलन रहेको छ।










