सोरेङमा याक्थुङ साक्थिम फोजुम्बोको ४४औं स्थापना दिवस भव्यरूपमा पालन गरिने

IMG-20230721-WA0342.jpg

सोरेङः सोरेङ जिल्लाको थर्पुस्थित लिम्बू सांस्कृतिक भवनमा आगामी २२ र २३ अगस्तको दिन याक्थुङ साक्थिम फोजुम्बोको ४४औं स्थापना दिवस भव्यरूपमा मनाउने भएको छ। उक्त कार्यक्रमको तयारीलाई लिएर आज थर्पुमा प्रारम्भिक सभा सम्पन्न भयो। सभामा क्षेत्र विधायक आदित्य गोलेको विषेश उपस्थिति थियो।

विधायक आदित्य गोलेले सम्बोधन गर्ने क्रममा लिम्बू समुदायको संस्था याक्थुङ साक्थिम फोजुम्बोको ब्यानरमा कार्यक्रम आयोजना भइरहे तापनि यो सम्पूर्ण जातिको कार्यक्रम रहेको मन्तव्य प्रकट गर्दै वर्षौंदेखि याक्थुङ साक्थिम फोजुम्बोको स्थापना दिवसमा लिम्बू जाति सँगसँगै अन्य सबै जातिको पनि पारम्परिक नृत्यहरू संरक्षण र प्रबर्द्धनमा राम्रो काम भइरहेको बताए। हामी सबै जात-जाति मिलेर बस्नुपर्ने र जातीय संस्थाहरूको कार्यक्रम सबैले सहभागिता जनाउनु पर्ने उनले सुझाउ दिए।

विधायक गोलेले मणिपुर राज्यमा भइरहेको हिंसात्मक घटनाको उल्लेख गर्दै सिक्किमलाई जात-जातिमाझ मिलेर बसोबास गर्ने देशकै नमूनाको राज्य बनाउँ भन्ने अभिव्यक्ति प्रकट गरे। अर्कोतिर कार्यक्रमको लागि आफूबाट पूरा सहयोग गर्ने आश्वासन दिए। स्मरण रहोस्, याक्युङ साक्थिम फोजुम्बो थर्पुले आफ्नो स्थापना दिवस बडो हर्षोउल्लासको साथमा प्रतिवर्ष मनाउँदै आइरहेको छ। वैश्विक महामारी कोविडको समय कार्यक्रमलाई भव्यता नदिएता पनि यो वर्ष भव्यरूपमा पालन गरिने भएको हो। कार्यक्रमको प्रमुख उदेश्य लिम्बू जातिको इतिहास, भाषा, साहित्य, संस्कृति, संस्कार, रीतिरिवाज, पारम्पारिक नाचगान, खानपिन, भेषभूषाको जानकारी पुस्तादर पुस्तालाई गराउन अनि यी विषयलाई संरक्षण र सम्बर्द्धनको लागि चिन्तन गर्न यो कार्यक्रम आयोजना हुँदै आइरहेको छ।

About Author

Advertisement