सोरेङमा अन्तरविद्यालय कविता वाचन, रामायण पाठ र तर्क प्रतियोगिता सम्पन्न

IMG-20230711-WA0004.jpg

सोरेङ: २०९औं भानु जयन्तीलाई लक्षित गर्दै साहित्यिक संस्था परी प्रकाशन सोरेङ र जिल्ला प्रशासन सोरेङको संयुक्त तत्वावधानमा आयोजित प्रतियोगितात्मक कार्यक्रम आज सोरेङ वरिष्ठ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती रंगशालामा सम्पन्न भयो। यहाँ आज तीनवटा विद्या कविता वाचन, रामायण पाठ र तर्क प्रतियोगिता आयोजना गरियो।

आज यहाँ सम्पन्न अन्तर सरकारी माध्यमिक विद्यालयबीच कविता प्रतियोगितामा मोठ १३ वटा स्कुलका एक-एकजना विद्यार्थीहरुले सहभागिता जनाएका थिए। सहभागिता जनाउने विद्यालयहरुमा टिम्बुरबुङ, देथाङ, रिञ्चेन्पोङ, लुङचोक, चुम्बुङ, सवालीगाउँ गेलिङ, दोदक, पिपले, मङ्सारी, पक्किगाउँ, जुम, तिक्पुर र रुम्बुक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए। उक्त प्रतियोगितामा प्रतिभागीहरुले मौलिक वा स्वरचित कविता वाचन अतिरिक्त अन्य कुनै पनि कविको कविता वाचन गर्नसक्ने छुट दिएको थियोे। यस कविता वाचन प्रतियोगितामा प्रथम मङ्सारी स्कुलकी छात्रा अञ्जली छेत्री, दोस्रो टिम्बुरबुङ स्कुलकी छात्रा कुशुमिका शर्मा र तेस्रो स्थान प्राप्त गर्न लुङ्चोक स्कुलका छात्र प्रशान्त छेत्री सफल बने। विजेता तीनैजना विद्यार्थीहरुले भानु जयन्तीको दिन प्रस्तुति दिनुपर्ने छ।

यसरी नै निम्नमाध्यमिक स्तरको रामायण पाठन प्रतियोगितामा ६ वटा विद्यालयले सहभागिता जनाएका थिए। सहभागिता जनाउने स्कुलहरुमा सिङलिङ, मालबाँसे, डन बस्को, मेन्दोगाउँ, वुडस्टक सोमबारे र बजेक स्कुल रहेको थियो। उक्त रामायण पाठ प्रतियोगितामा मालबाँसे स्कुल प्रमथ बने। यसरी नै बजेक स्कुल दोस्रो र वुडस्टक स्कुल सोमबारे तेस्रो स्थान प्राप्त गर्न सफल रहे। यी उत्कृष्ट तीनै स्कुलका विद्यार्थीहरुले भानु जयन्तीको कार्यक्रम प्रस्तुति दिनुपर्ने छ।

आज सम्पन्न सोरेङ जिल्ला स्तरीय वरिष्ठ माध्यमिक विद्यालय स्तरको तर्क प्रतियोगिता अन्तर्गत दुइवटा सेमिफाइनल सम्पन्न भयो। तर्क प्रतियोगिताको पहिलो सेमिफाइनलमा दरमदिन वरिष्ठ माध्यमिक विद्यालयले शहरीया जीवन गाउँले जीवन राम्रो भन्ने विषयमा तर्क राखेका थिए भने सोरेङ वरिष्ठ माध्यमिक विद्यालयले दरमदिन स्कुलले राखेको विषय विरुद्ध तर्क पेश गरेको थिए। जसमा दरमदिन स्कुलले सोरेङ स्कुललाई परास्त गरेर तर्क प्रतियोगिताको फाइनलमा स्थान पक्का गरे। तर्क प्रतियोगिताको अर्को सेमिफाइनलमा थर्पु वरिष्ठ माध्यमिक विद्यालयले महिला आरक्षण आवश्यकता हो भन्ने विषयमा तर्क पेश गरेका थिए भने बढियाखोप वरिष्ठ माध्यमिक विद्यालयले यसको विरुद्धमा जोडदार तर्क राखे। तर कम्ती अंकको अन्तरले थर्पु स्कुलले बढियाखोप स्कुललाई पराजित गरे। आजको यी दुवै विजेता स्कुलले फाइनलमा आउँदो १३ जुलाईको दिन भानु जयन्तीको अवसरमा अन्तिम तर्क पेश गर्नेछन्। अन्तरविद्यालय तर्क प्रतियोगितामा कुल सातवटा विद्यालयले सहभागिता जनाएको थियो।

आज सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा २०९औं भानु जयन्ती समारोह समिति सोरेङका प्रमुख संरक्षक तथा सोरेङ-च्याखुङ समष्टिका विधायक आदित्य गोले प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँका साथमा परी प्रकाशन सोरेङका अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, महकुमा अधिकारी सन्नी खरेल, शिक्षा विभागका उप-निर्देशक एमके खेवा, साहित्यकार पीएल शर्मा, साहित्यकार टीबी गुरुङ ‘तामी’, कवि रजनी पेगा, भाषा-साहित्य अनुयायी, विभिन्न शैक्षिक संस्थानका प्रमुख, सेवानिवृत्त अधिकारी साथै कर्मचारीगण, बौद्धिक जमात, संघ-संस्थानका प्रतिनिधिगण, परी प्रकाशनका सक्रिय कार्यकर्ता, शिक्षक-शिक्षिकावर्ग र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति थियो।

आज सम्पन्न प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई विधायक आदित्य गोले र अन्य विशिष्ट व्यक्तित्वहरुको बाहुलीबाट प्रमाणपत्र वितरण गरियो।

About Author

Advertisement