सोनादा: सोनादा डिग्री कलेजको नेपाली विभाग एवम् कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन कमिटि (आई.क्यु.ए.सी.)को आयोजनामा अनि कलेजका सबै विभागका प्राध्यापक- प्राध्यापिकाहरू र विद्यार्थीहरूको सहभागितामा भानुभक्त एवम् नेपाली भाषा मान्यता दिवस स्मरण समारोह कलेजको प्रेक्षागृहमा डा.रागिनी थापाको अध्यक्षतामा सम्पन्न भयो। आदिकवि भानुभक्त आचार्यको प्रतिकृति अघि डा.रागिनी थापा, प्रा.सुशिला बराईली, प्रा.पेञ्चुला भोटिया, प्रा. बिन्दिया गुरुङ, प्रा. प्रमोद छेत्री, प्रा.पार्थ सारथी दास, प्रा. अब्बु सिद्दिकी, उत्तमा सुन्दास आदिद्वारा धूप- दीप प्रज्ज्वलन र माल्यार्पण भई शुआरम्भ भएको उक्त समारोहमा भानुभक्त आचार्यका कृति र कार्यहरू अनि नेपाली भाषाको संवैधानिक मान्यता र उपलव्धिहरू बारेमा केवल भानु जयन्ती र भाषा मान्यता दिवसको दिन मात्र चर्चा नगरेर समय- समयमा यसरी चर्चा परिचर्चा गरीरहनु आवश्यक रहेको कुरो बताउदै प्रा. मेघनाथ छेत्रीले स्वागत सम्बोधन गरेका थिए। नेपाली विभागका विद्यार्थीहरूले रामायण पाठ गरेपछि इतिहास विभागका राहुल मंगर, राजनीति विज्ञानका याङछेन भोटिया, नेपाली विभागका अनुमा शर्मा र राजनीति विज्ञानका विभागीय प्रमुख प्रा.सुशिला बराइलीले नेपाली भाषाको विशेषता यसका संवैधानिक मान्यताको आन्दोलनको इतिहास र मान्यता पछि प्राप्त सहुलियत बारेमा चर्चा गरेका थिए। अङ्ग्रेजी विभागका प्रणेश गुरुङ र समूहले इन्द्रबहादुर राईका “आज रमिता छ “उपन्यासका केही अंशहरुलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रस्तुत गर्दै नेपाली भाषामा लेखिएका कृतिहरू अन्य भाषाहरूमा अनुवाद हुनु पनि नेपाली भाषाको विकास हुनु हो भनी सन्देश दिएका थिए। उनीहरूले लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित मुनामदनको केही पद्यांशहरूलाई झ्याउरे लोक लयमा पठन गरेका थिए। अनुश्री छेत्री र प्रणेश गुरुङले भानुभक्तको घाँसी कवितालाई सुमधुर स्वरमा प्रस्तुत गरेका थिए। आसिफ राई, बीरसिक्का राई, टाँसी फिन्सो मोक्तान, शिवाया रसाईली, श्रद्धा लिम्बुले गीत, खुशी सुब्बा र सम्झौता राईले एकल नृत्य अनि सबै विभागका केही विद्यार्थीहरू सहभागी भई सामूहिक लोक नृत्यहरु प्रस्तुत गरेका थिए। अनुमा शर्मा र दिप्ती राईले स्वरचित कविता पाठ गरेका थिए। समारोहलाई प्रा.पर्वत रसाइलीले सञ्चालन र प्रा.अनिल विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए। समारोह अध्यक्षा डा.रागिनी थापाले विद्यार्थीहरूलाई समयनिष्ठ र कर्तव्यनिष्ठ बन्ने सुझाव दिएका थिए।











