स्कट मिशन प्राथमिक पाठशाला बने प्रथम
सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग सोनादा सर्कलको आयोजनामा अन्तर प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगिता सम्पन्न भएको छ। सोनादा क्षेत्रमा पर्ने १६ वटा प्राथमिक पाठशालाहरूलाई लिएर सम्पन्न उक्त हाजिरी जवाब प्रतियोगिता रंगबुल उच्चत्तर माध्यमिक विद्यालयको हलमा सम्पन्न भएको छ। उक्त हाजिरी जवाब प्रतियोगितामा स्कट मिशन प्राथमिक पाठशाला सोनादा प्रथम, बाल विद्या प्राथमिक पाठशाला मिलिङ दोस्रो र धोतरिया मुन्शी गाउँ प्राथमिक पाठशाला तेस्रो भएका छन्। त्यसरी नै स्कट मिशन प्राथमिक पाठशाला सोनादाकी शबनम अलि सोनादा सर्कलबाट बेस्ट पर्फरमरको रूपमा चयन भएका छन्। यस प्रतियोगितामा प्रथम हुने सोनादा स्कट मिशन प्राथमिक पाठशाला दार्जिलिङमा हुने जीटीए स्तरीय हाजिरी जवाब प्रतियोगिताको लागि चयन भएका छन्। यस हाजिरी जवाब प्रतियोगितामा क्विज मास्टरको रूपमा शिक्षक नरेश कटुवाल उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा भूतपूर्व शिक्षक डीबी सुब्बा उपस्थित रहेका थिए भने कार्यक्रमको अध्यक्षता शिक्षक जीवन प्रधानले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिहरूमा सभासद नुरी शेर्पा, कर्माध्यक्ष बबिन्द्र राई, सोनादा क्षेत्रका एसआई अबदुस सलाम, विवा गुरूङ, निमछिरिङ लेप्चा, स्कूल बोर्ड सदस्य शिशिर राई, मुन्ना पाख्रिन आदि उपस्थित रहेका थिए। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै यस क्विज प्रतियोगिताको संयोजक तुलसी राई र बोर्ड सदस्य किरण बरदेवाले विस्तृत रूपमा जानकारी गराएका छन्।










