सोनादामा ‘स्वच्छ सोनादा, सुन्दर सोनादा’ अभियानको शुभारम्भ

IMG-20250920-WA0146

सोनादा: ‘स्वच्छ सोनादा, सुन्दर सोनादा’ भन्ने परिकल्पनाका साथ शनिबार बिहान सोनादामा व्यापक सफाई अभियानको शुभारम्भ गरिएको छ। स्थानीय नागरिक, सुरक्षा निकाय, युवा समूह र सामाजिक संस्थाहरुको संयुक्त पहलमा आयोजित यस अभियानको सुरुवात सोनादाको शिव मन्दिर परिसर वरपरको झाडी सफा गर्दै गरिएको हो। सफाई अभियानमा सोनादा आउट पोस्ट, सोनादा ट्राफिक पुलिस, सु–रन (Su-Run), राजाहट्टा एक्सप्लोर ग्रुप, रेडियो सलेसियन, सोनादा हिमालयन होमस्टे एसोसिएसन तथा स्थानिएीय सचेत युवाहरुको सक्रिय सहभागिता रहेको थियो। बिहानैदेखि उत्साहपूर्ण रुपमा सञ्चालन गरिएको यस अभियानमा ठूलो संख्यामा नागरिकहरुको उपस्थिति देखिन्थ्यो। कार्यक्रममा विशेष उपस्थितिका रुपमा सोनादा आउट पोस्टका ओसी योगेश ठकुरी, ट्राफिक ओसी सविन दर्नाल र अप्पर सोनादा ग्राम पञ्चायतका प्रधान दावा तामाङ सहभागी बनेका थिए। उनीहरुले सरसफाईलाई निरन्तरता दिन र वातावरणलाई स्वच्छ राख्न स्थानीय स्तरमै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। सफाई अभियानको संयुक्त आयोजकको तर्फबाट सु–रनका धावक शरण कालुले सरसफाई अभियानको औचित्य स्पष्ट पार्दै, सार्वजनिक स्थलमा लापरबाहीका साथ एकान्तमा वा रातको समयमा फोहोर फ्याँक्ने बानी तत्काल रोक्न सबैलाई अनुरोध गरे। उनले अभियानमा जुटेका सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्दै यो सुरुवात मात्रै हो, आगामी दिनमा अझ ठूला र दीगो अभियान चलाइने विश्वास व्यक्त गरे। यस अभियानले सोनादालाई सफा र आकर्षक बनाउने मात्र नभई स्थानीयमा सामूहिक जिम्मेवारी र वातावरणीय सचेतना जगाउने उद्देश्य लिएको आयोजक समितिले जनाएको छ।

About Author

Advertisement