सोनादा: सोनादाको शेर्पा गुम्बामा अन्तर्राष्ट्रीय एभरेष्ट डे पालनसितै माउण्ट एभरेष्टमा पुग्ने पहिलो व्यक्ति तेञ्जिङ नोर्गे शेर्पाको १०९औं जन्म जयन्ती पालन गरिएको छ। सोनादा शेर्पा समाज खानरी किदुक अनि शेर्पा युवाहरूका आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा म्याजिस्ट्रेट भुषण शेर्पा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा पार्वतोरोही दोर्जे शेर्पा उपस्थित रहेका थिए। कार्यक्रमलाई निमा शेर्पाले सञ्चालन गरेका थिए। पार्वतोरोही तेञ्जिङ नोर्गेको जन्म जयन्तीको अवसरमा शेर्पा समुदायद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। यसै अवसरमा वृक्ष रोपण कार्य पनि सम्पन्न गरिएको थियो। यसै कार्यक्रममा शेर्पा समुदायबाट दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षाहरूमा उच्च अंक ल्याएर उत्तीर्ण भएका ५ जना विद्यार्थीहरूलाई सम्बर्ध्दना पनि जनाइएको छ।

यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा शेर्पा गुम्बाको कोषाध्यक्ष एंव शेर्पा ट्रस्टको सचिव फुर्बा शेर्पाले तेञ्जिङ नोर्गे शेर्पाको जन्म जयन्ती विश्वभरि नै पालन गरिन्छ अनि हामीले सोनादामा पनि वार्षिक रूपमा पालन गर्ने गर्छौं भनी बताएका छन्। उनले तेञ्जिङ शेर्पा केवल शेर्पाहरूका लागि मात्रै नभएर सबै नेपाली जाती र देशको नै गर्व हुन् भनी बताउँदै विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्टमा पहिलोपल्ट आजकै दिन २९ मई १९५३ मा तेञ्जिङ शेर्पाले पाइला टेकेका थिए र त्यसै दिनलाई हामी पालन गरिरहेका छौं भनी बताए।








