२२ मईः इटालियन सेरि ए फूटबलमा अगावै च्याम्पियन बन्ने नापोलीले आइतवार राति ठूलो जीत हासिल गऱ्यो। नापोलीले दशजना खेलाड़ीमा सीमित इण्टर मिलानलाई ३-१-ले पराजित गऱ्यो। आउँदो ११ जूनमा म्यानचेष्टर सिटी विरुद्ध च्याम्पियन्स लीगको फाइनल खेल्ने तयारीमा जुटेको इण्टर मिलानलाई म्याचको ४१औं मिनटमा ठूलो धक्का लाग्यो। टीमका मीडफिल्डर रोबर्तो गागलिआर्डिनीले दोस्रो यल्लोसहित रेड कार्ड देखेर मैदान छोड़्नु पऱ्यो। विपक्षी टीम दशजना खेलाड़ीमा सीमित भएपछि चाहिँ नापोलीले आफ्नो होम ग्राउण्ड डिएगो अर्मान्दो म्याराडोना स्टेडियममा इण्टरलाई चेपारोमा पाऱ्यो। नापोलीको तर्फबाट म्याचमा एण्ड्रे-फ्रांक जाम्बो एंगुइसाले ६७औं, जियोभान्नी डी लोरेञ्जोले ८५औं र गिआनलुका गेटानोले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। यसरी इण्टरबाट रोमेलु लुकाकुले ८२औं मिनटमा गोल गरे। यस जीतपछि सेरि ए टेबलको शीर्षमा रहने नापोलीको ३६ वटा म्याचमा ८६ पोइण्ट्स पुग्यो। यसरी इण्टर ६६ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। अन्य म्याचहरूमा उडिनिसलाई लाजिओले १-०-ले पराजित गऱ्यो। यसरी तोरिनो र फिओरेण्टिनाबीचको म्याच १-१-ले ड्र रह्यो।











