३ अगस्तः ओपनरको भूमिकामा ओर्लिने सूर्यकुमार यादव (४४ बलमा ७६ रन, ८ वटा चौका, ४ वटा छक्का)-को विध्वंशी ब्याटिंगको दममा भारतले तेस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले पाँचवटा टी२० म्याचको सीरीजमा २-१-को बढ़त हासिल गऱ्यो। वेष्ट इण्डिजले पहिला ब्याटिंग गर्दै १६५ रनको लक्ष्य दिएको थियो, जसलाई भारतले ६ बल बाँकी रहँदै ३ विकेट गुमाएर हासिल गऱ्यो।

भारतको तर्फबाट सूर्यकुमार बाहेक रिषभ पन्तले अविजित ३३ र श्रेयस अय्यरले २४ रन बनाए। लक्ष्यलाई खेदो गर्दै भारतको शुरुवात असल रहेन। आक्रामक शुरुवात गर्ने कप्तान रोहित शर्मा चोटले गर्दा मैदानबाट बाहिर जानु पऱ्यो। रिटायर्ड हर्ट हुन अघि उनले ११ रन बनाए। टीमको स्कोर १९ रन हुँदा रोहितले मैदान छोड़ेपछि सूर्यकुमारले श्रेयससँग मिलेर मोर्चा सम्हाले। यी दुईले मिलेर टीमको स्कोर १०५ रनसम्म पुऱ्याए। यस क्रममा श्रेयसले धैर्यको साथ खेले पनि सूर्यकुमारले मैदानको चारै कुनामा रनको वर्षा गरे। अय्यर २७ बल खेलेर २ वटा चौकाको सहायताले २४ रन बनाएर आउट भए। त्यसपछि भारतले सूर्यकुमार र हार्दिक पाण्ड्या (४)-लाई लगातार अन्तरालमा गुमाए पनि पन्तले दीपक हूडा (अविजित १०)-सँग मिलेर टीमलाई जीतसम्म पुऱ्याए। पन्तले २६ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। वेष्ट इण्डिजका बलरहरूमा डोमिनिक ड्रेक्स, जेसन होल्डर र अकील होसेनले १-१ विकेट लिए।

यसअघि सेण्ट कीट्सको वार्नर पार्कमा टस हारेर पहिला ब्याटिंग गर्ने वेष्ट इण्डिजको ईनिंग्समा ओपनर काइल मेयर्सको अर्द्धशतक मुख्य आकर्षण रह्यो। मेयर्सले ५० बलमा ८ वटा चौका र ४ वटा छक्काको सहायताले ७३ रन बनाए। उनले पहिला ब्रेण्डन किंग (२० रन)-सँग मिलेर पहिलो विकेटको निम्ति ७.२ ओभरमा ५७ रनको साझेदारी गरे। हार्दिक पाण्ड्याले किंगलाई आउट गरी यस साझेदारीलाई तोड़े। त्यसपछि मेयर्सले कप्तान निकोलस पूरन (२२ रन)-सँग पनि दोस्रो विकेटको निम्ति ५० रन योग गरे। एक समय त वेष्ट इण्डिजले विशाल स्कोर बनाउने संकेत देखिएको थियो तर अन्तिम ओभरहरूमा भटाभट विकेटको पतन हुँदा टीम १६४-को स्कोरमा रोकियो। रोवम्यान पावेलले २३ र शिमरोन हेटमायरले २० रन बनाए।

भारतीय बलरहरूमा भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए। यसबाहेक हार्दिक र अर्शदीप सिंहले १-१ विकेट लिए। अवेश खान फेरि एकपल्ट महँगो साबित भए। उनले ३ ओभरमा ४७ रन खर्च गरे। सूर्यकुमारलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सीरीजको अन्तिम दुईवटा म्याच अमेरिकाको फ्लोरिडामा खेलिनेछ।








