सुवास घिसिङको ११औँ पुण्यतिथिमा मिरिकमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

IMG-20260129-WA0079

मिरिक: अतुल्य गोर्खा पिता आप्पा सुवास घिसिङको ११औँ पुण्यतिथिको अवसरमा सुवास घिसिङ समाधि संरक्षण समितिको आयोजनामा आज मिरिक मञ्जुस्थित सुवास घिसिङ स्मृति पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा दीप प्रज्वलन गरिनुका साथै उनीद्वारा आप्पा सुवास घिसिङप्रति श्रद्धाञ्जली अर्पण गरियो।

श्रद्धाञ्जली अर्पण गर्ने क्रममा दार्जीलिङका विधायक निरज जिम्बा, पूर्व राज्यसभा सांसद शान्ता छेत्री, पूर्व पार्षदहरू, गोरामुमो केन्द्रीय समिति सदस्यहरू, वरिष्ठ नेतृत्ववर्ग, विभिन्न संघ–संस्था, गैरराजनीतिक व्यक्तित्वहरू तथा गोरामुमोका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमपछि सुवास घिसिङ समाधि संरक्षण समितिका अध्यक्ष वाई लामाले जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभयो, “आज अतुल्य गोर्खा पिता, गोर्खा जातिको चेतना र अस्मिताका अमर योद्धा आप्पा सुवास घिसिङको ११औँ पुण्यतिथि हो। यस पावन अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कोटि–कोटि नमन प्रकट गर्दछौँ।”


उनेले विज्ञप्तिमा आप्पा सुवास घिसिङ केवल एक व्यक्ति मात्र नभई गोर्खा जातिको आत्मसम्मान, अस्तित्व र पहिचानको प्रतीक रहेको उल्लेख गर्दै भने, “जब गोर्खा समाज आफ्नो पहिचान खोज्दै अन्योलमा थियो, त्यतिबेला आप्पा सुवास घिसिङ आशाको दीप बनेर उभिनुभयो। उहाँले गोर्खा जातिलाई अधिकार, अस्मिता र स्वाभिमानको चेतना दिलाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो।”


वाई लामाले आप्पा सुवास घिसिङले देखाउनुभएको संघर्षको मार्ग, एकताको सन्देश र आत्मगौरवको भावना आज पनि गोर्खा समाजका लागि मार्गदर्शक बनेको उल्लेख गरे। समय परिवर्तन भए पनि उहाँले रोपिदिनुभएको चेतनाको बीउ कहिल्यै नमर्ने विश्वास व्यक्त गर्दै उहाँका विचार, सपना र संघर्ष सधैँ गोर्खा समाजको हृदयमा जीवित रहने बताए। अन्त्यमा अध्यक्ष वाई लामाले ११औँ पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व, संघ–संस्था तथा उपस्थित सबैप्रति आयोजन समितिको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।

About Author

Advertisement