दार्जीलिङ: दोस्रोपल्टको सुनवाई अवधि सीजीएम कोर्टले सुमित देवान अनि प्रसिध्द राईलाई जमानतमा रिहा गरिदिएको छ। कडा सुरक्षाबीच आज शनिबार दार्जीलिङ जिल्ला अदालतमा चलेको सुनवाईमा दुईजनाको जमानतमा रिहाको निर्देश आउनपछि भारी संख्यामा उपस्थित चिया श्रमिकहरुले खुशियाली मनाएका छन्।
गत ३० सेप्टेम्बर डाकिएको १२ घण्टे पहाड बन्दबीच सोनादा परिसरमा राष्ट्रिय राजमार्ग ५५ मा अवरोध खडा गरेको आरोपमा पक्राउ दुवै आरोपीहरुलाई ३ दिने रिमाण्डमा राखिएपछि आज कोर्टमा प्रस्तुत गरिएको थियो।
यसलाई लिएर मिडियामा बोल्दै सुमित देवानले १५० वर्ष पुरानो चियाबारीमा मालिक पक्षले रोपेका शोषण एवं उत्पीडनको जरा उखेल्न श्रमिकहरु एक हुन पर्ने आह्वान गरे। उनले अधिकारको कुरामा जेल पर्दा न्याय पाउने कुरामा विश्वस्त रहेको बताए। यता पुलिस प्रशासनमाथि झुटो मुद्दामा फँसाउन चाहेको आरोप लगाउँदै रहर होइन अबको श्रमिक आन्दोलनलाई अघि बडाउन कर परेको प्रसिध्द राईले बताएका छन्।










