८ जुलाईः गत २५ जूनदेखि शुरु भएको अलिपुरद्वार जिल्ला ए डीविजन फूटबल लीगमा हिस्सा लिने डुवर्स फूटबल एकाडमी (कालचिनी, अलिपुरद्वार जिल्ला)-को टीमले सुपर डीविजन लीगको निम्ति क्वालीफाई गऱ्यो। डुवर्स एफए-का मुख्य प्रशिक्षक कुमार लामाले बताएअनुसार, टीमले थर्ड राउण्डको म्याच जितेर सुपर डीविजन लीगको निम्ति क्वालीफाई गरेको छ।

जम्मा २८ वटा टीमले हिस्सा लिएको ए डीविजन लीगबाट डुवर्स एफए-ले आफ्नो पोलबाट क्वालीफाई गऱ्यो अनि टीमको पहिलो म्याच ११ जुलाईमा रहेको छ। डुवर्स एफए-को टीममा सबै खेलाड़ीहरू अण्डर-१८ आयु वर्गका छन्, जसमा १६ वर्षीय जस्टिन मुण्डाले बिहीवार खेलिएको म्याचमा २ गोल गरे।

यसबाहेक वाङदीप लामा र विश्वजीत उरावँले पनि गोल गरे। अमृत मिञ्जको कप्तानीमा पहिलोपल्ट खेल्दै टीमको सफलतामा कुमार लामाले खुशी व्यक्त गरेका छन्। टीममा सहायक प्रशिक्षकको रूपमा शिवई कुकी र प्रकाश लामा रहेका छन्।










