सुनसरीमा साइकलयात्रीको मृत्यु

IMG-20241016-WA0043

सुनसरी (दुहबी): सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीका ४५ वर्षीय दीपु चौधरीको मृत्यु प्रकरणले अर्को रूप लिएको छ। उनको मृत्यु सवारीसाधनको ठक्करबाट भएको पत्ता लागेको हो।
प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरेका चौधरीको मृत्यु साइकलबाट लडेर भएको आशंका गरिएको थियो। तर, खानेपानी कार्यालय भोजपुरको गाडीको ठक्करबाट साइकलयात्री चौधरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
साइकलमा यात्रारत चौधरीलाई रामधुनी-६ स्थित भित्री पक्की सडक खण्डमा अक्टूबर ३मा बिहान ८ः३० बजे खानेपानी कार्यालय भोजपुरको को १ झ ६३३ नम्बरको गाडीले ठक्कर दिएको थियो। त्यसपछि उनलाई घरमा लगेर घरयासी उपचार गरियो।
स्वास्थ्यमा थप समस्या हुँदै गएपछि परिवारका सदस्यले उपचारका लागि अक्टूबर ९मा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगे। उपचारका क्रममा अक्टूबर १४मा मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार चौधरीलाई गाडीले ठक्कर दिएको जानकारी मांगलबार इलाका प्रहरी कार्यालय पकलीमा आफन्तले गराएका थिए। पकलीका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएपछि चौधरीको मृत्यु दुर्घटनामा परेर भएको पत्ता लागेको हो।
प्रहरीले दुर्घटनास्थल वरपरका सीसी क्यामेरा फुटेज अध्ययन गरेको थियो। त्यस क्रममा गाडीले साइकलयात्रीलाई ठक्कर दिएको यकिन भयो। सडक पार गर्दै गरेको साइकललाई तीव्र गतिमा रहेको गाडीले ठक्कर दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ।
गाडीले ठक्कर दिएपछि साइकलयात्री चौधरी सडकमै लडेका थिए। साइकलसँगै लडेका उनी केहीबेरमा आफैं उठ्छन्। दुर्घटनापछि चालकले गाडी रोकेका थिए। तर, स्थानीयहरु भेलाजम्मा हुन थालेपछि गाडी लिएर चालक फरार भएको फुजेटमा देखिन्छ।
घटनास्थलबाट भागेको गाडीलाई कसैले पनि रोक्ने प्रयास गरेको देखिँदैन। प्रहरीलाई तत्काल घटनाको जानकारी गराइएन। तर, चौधरीको मृत्यु भएपछि भने प्रहरीलाई आफन्तले घटनाको वास्तविकता बताएका हुन्।
त्यसपछि अनुसन्धान अघि बढाएको प्रहरी दुर्घटना गराउने गाडी पत्ता लगाउन सफल भएको डीएसपी तिमल्सिना बताउँछन्। प्रहरीले दुर्घटना गराउने गाडी र चालक भोजपुरको षडानन्द नगरपालिका-११ का ४६ वर्षीय सुरेश तामाङलाई पकली झिकाएको छ।
प्रहरीका अनुसार मंगलबार रातिसम्म तामाङ पकली आइपुगेका छैनन्। घटनाको अनुसन्धान अघि बढाइएको बताउँदै डीएसपी तिमल्सिनाले अनुसन्धानपछि थप कुरा प्रष्ट हु्ने जानकारी दिए।
‘सुरुमा साइकलबाट लडेर घटना भएको जानकारी प्रहरीमा आएको थियो। स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि स्कोरपिओ गाडीले ठक्कर दिएको भन्ने खबर आयो,’ उनले भने, ‘त्यसपछि प्रहरीले अनुसन्धानमा थप सक्रियता देखायो। सीसी क्यामेरा फुटेजको मद्धतले घटनाको वास्तविकता पत्ता लागेको हो।’

About Author

Advertisement