झापा: प्रहरीले गोली प्रहार गरी सुनसरीको रामधुनी:-६ स्थित इचौलबाट दुई जना लागु औषध कारोबारीलाई मई १६ का दिन नियन्त्रणमा लिएको छ। पुलिसले बिहीबार साँझ ८ बजे गोली हानेर लागू औषध ब्राउन सुगर सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो।
पुलिस टोलीले सप्तरीको सप्तकोसी नगरपालिका-५ का ३५ वर्षीय श्यामसुन्दर खान र सुनसरीको इटहरी-५ का ४० वर्षीय श्यामप्रसाद निरौलालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। खानको घुडामुनी गोली लागेको छ।
उनको इटहरीको सान्वी सिटी अस्पतालमा उपचार भइरहेको पुलिसले जनाएको छ। अर्का कारोबारी निरौलालाई भने पुलिसले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। उनीहरूको साथबाट २ सय १० ग्राम ६ सय ३० मिलिग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन समेत बरामद भएको पुलिस श्रोतले जानकारी दिएको छ। लागू औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय पकलींको टोलीले ती दुई कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो।
लागु औषध कारोबारीलाई पिछा गर्दै हिडेको पुलिसको टोली माथीनै जाइलागेपछि गोली चलाउनुपरेको बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। दुई दिनअघि पनि ब्युरोको टोलीले मोरङको रतुवामाईबाट गोली प्रहार गरी कारोबारी नियन्त्रणमा लिएको थियो।










