सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण सङ्घर्ष

00-1-Sudan-Rep-image

सुडानको सेना र एउटा ‘कुख्यात’ अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ जारी रहँदा हालसम्म कम्तीमा तीन जनाको मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यम बीबीसीको रिपोर्ट अनुसार त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ। भिडिओहरूमा खार्तुम विमानस्थलमा एउटा गैरसैनिक विमानमा आगो लागेको देखाइएको छ। साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस विमान ‘दुर्घटना’मा परेको बताएको छ। अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छl तर सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ।

भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन्। एकजना प्रत्यक्षदर्शीका अनुसार मानिसहरूलाई त्यस्तो भिडन्त हुन्छ भन्ने लागेको थिएन। त्यसैले धेरै मानिसहरू घरबाट बाहिर निस्किएको अवस्थामा थिए। पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेको उनको भनाइ छ। ‘यहाँ अझै गोली चलिहरेको छ र मानिसहरू घर भित्रै बसिरहेका छन्। यहाँ आतङ्क र डरको स्थिति छ’, अजोक मोनीबायोकले केन्यामा रहेकी उनकी दिदीमार्फत बीबीसीसँग भनिन्।
रोयटर्स समाचार संस्थाले शहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ। यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो। सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी समाचार संस्थाले सेनाका प्रवक्ता ब्रिगेडियर जेनरल नबिल अब्दल्लाहलाई उद्धृत गर्दै जनाए अनुसार खार्तुम र सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्‍यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन्। ‘भिडन्त जारी छ र सेनाले देशको रक्षाको लागि आफ्नो कर्तव्य पूरा गरिरहेको छ’, एएफपीसँग उनले भनेका छन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उत्तरी शहर मेरोवेमा गोली चलेको बताएको छ। अलअरेबिया टेलिभिजनले त्यहाँको सैन्य शिविरबाट धुवाँ निस्किएको तस्वीरहरू प्रसारण गरिरहेको छ रोयटर्सले जनाएको छ।

सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद्‍ भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन्। आरएसएफ उक्त परिषद्‌का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ। सेनाको नेतृत्वमा भने जेनरल अब्देल फताह अल-बुर्हान रहेका छन्। उनी सार्वभौम परिषद्‌का प्रमुख पनि हुन्। नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने समय तालिकामा बनाएको छ। आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो तर सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्नेमा जोड दियो। यसै सातादेखि तनाव बढेपछि बिहीबार आरएसएफले मेरोवेमा सैन्य आधार नजिकै आफ्ना फौजलाई तैनाथ गरेको थियो। जेनरल बुरहानले प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो द्वितीय वरीयताका कमान्डरसँग कुरा गर्न इच्छुक रहेको बताएका छन्। पश्चिमी र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्ने उद्देश्यसहितको वार्तामा फर्कन आग्रह गरेका छन्। शुक्रबार स्थिति सामान्य हुने सङ्केत देखिएको थियो। सुडानका लागि अमेरिकी राजदूतले ट्विटरमा लेख्दै दुवै पक्षलाई तत्काल लडाइँ रोक्न आग्रह गरेका छन्।

शहरमा गोली चलेको आवाज सुनेपछि आफू ब्युँझिएको र अहिले दूतावासका अन्य सदस्यसहित सुरक्षित स्थलमा रहेको बताउँदै उनले त्यस्तो आग्रह गरेका हुन्। रुसी दूतावासले पनि हिंसा बढेपछि चिन्तित बनेको र तत्काल युद्ध विराम गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ। दुई वर्षभन्दा बढी समयसम्म सैन्य र नागरिक नेताहरूले शक्ति साझेदारी गरिरहेको अवस्थालाई सन् २०२१ को कूले अन्त्य गरिदिएको थियो। लामो समयसम्म सुडानमा अधिनायकवादी शासन गरेका राष्ट्रपति ओमर अल‍-बशिरलाई अपदस्थ गरिएपछि सैन्य र नागरिक नेताहरूले उक्त सम्झौता गरेका थिए। उक्त कूपछि नै खार्तुममा प्रजातन्त्र समर्थक आन्दोलनहरू भइरहेका छन्।

About Author

Advertisement