सुकनामा पाँचौं बटालियन नवौं गोर्खा राइफल्सका पूर्व सैनिकहरूको एक भव्य सम्मेलन सम्पन्न

IMG-20220906-WA0210.jpg

सुकना: सुकनाको सार्वजनिक भवनमा पाँचौं बटालियन नवौं गोर्खा राइफल्स पूर्व सैनिक संगठनको एक भव्य समारोह संगठनका सभापति कप्तान हरिश छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। समारोहमा समितिका उप सभापति सुवेदार आर. बी. छेत्री, प्रमुख सल्लाहकार कप्तान आई. डी. थापा, सुवेदार बी. बी. छेत्री आदि विशेष रुपमा उपस्थित थिए। विशेष गरी सन् १९६५ सालको भारत – पाकिस्तान युद्धमा शहीद बनेका बीरहरूको सम्झना गरी उनीहरूलाई श्रद्धाञ्जलि र शहीदका परिवारहरूलाई सम्मान जनाउन गरिएको यो महत्वपूण भव्य समारोहमा दार्जीलिङ पहाड, तराई, डुवर्सका विभिन्न ठाँउबाट तीन सयभन्दा धेर पूर्व सैनिकहरू लगायत उनीहरूका परिवार, शहीदका परिवारहरु उपस्थित थिए। समारोहमा शहीदका विधवा नारीहरु तथा उनीहरूका परिवारलाई सम्मान जनाइएको थियो। समारोहका सभापति लगायत आमन्त्रित अतिथिहरुले पाँचौं बटालियन नवौं गोर्खा राइफल्सले देशको सुरक्षामा दिएको योगदानको बारेमा जानकारी दिँदै सन् १९६५ मा भएको भारत- पाकिस्तान युद्धका वृतान्तहरु बताएका थिए। उक्त भारत – पाक युद्धमा पाँचौं बटालियनका जवानहरुले वीरतासाथ लडी दुश्मनका सोह्रवटा टैङ्करहरू नष्ट गरी धेरै दुश्मनहरुलाई मारेको अनि यता आफ्ना तीस भन्दा धेर सैनिकहरू शहीद भएको थियो भने युद्धको समाप्तिपछि सरकारले पाँचौं बटालियन नवौं गोर्खा राइफल्सलाई सम्मान जनाएका कुराहरू बक्ताहरूले समारोहमा साझा गरेका थिए। ४ सेप्टेबरको दिन सुकनामा एकैसाथ एकातिर सुकुना उच्चतर माध्यमिक विद्यालयमा श्री नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्कको लोकार्पण समारोह सम्पन्न हुनु अनि अर्कोतिर यता सार्वजनिक भवनमा पूर्व सैनिकहरूको यो समारोह सम्पन्न हुनु दुवै सुकनाको लागि एक ऐतिहासिक दिन रहेको कुरो सुवेदार बी. बी छेत्रीले आफ्नो सम्बोधनमा जनाउदै उपस्थित सबैलाई आयोजक समितिको पक्षमा आभार प्रकट गरेका थिए। समारोहलाई सफलतीभूत बनाउन हवल्दार हेमकुमार छेत्री, हवल्दार देवी चन्द्र छेत्री, हवल्दार राजन छेत्री लगायत नवौं गोर्खा राइफल्सका उपस्थित पूर्व सैनिकहरू सबैको अहम् भूमिका रहेको थियो।

About Author

Advertisement