मुख्यमन्त्रीले झण्डा हल्लाएर सीमा दर्शनको निम्ति प्रस्थान गराए

vibrant_919

गान्तोक: देशको अन्तिम गाउँबाट मानिसहरू आवश्यक पूर्वाधारको कमीमा पलायन नहोस् भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी सोंचसँगै शुरु गरिएको “भाइब्रेण्ट भिलेज’’ कार्यक्रम अन्तर्गत राज्यको सीमावर्ती क्षेत्र नाथुला भ्रमणको निम्ति आयोजन गरिएको सीमा दर्शन कार्यक्रमलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान हरियो झण्डा देखाए। यहाँको रिज पार्कबाट कार्यक्रमलाई हरियो झण्डा देखाउनअघि मुख्यमन्त्री तामाङले विद्यार्थीहरूबाट राखी बाँधे। योजना एवं विकास विभाग, जिल्ला प्रशासनिक केन्द्र गान्तोक, शिक्षा, स्वास्थ्य विभाग, सेना, आइटीबीपी, हेमन्त यादव फाउण्डेशन आदिको संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रममा लगभग ५० विश्वविद्यालय अनि महाविद्यालयका विद्यार्थीहरूले सीमावर्ती क्षेत्र नाथुला अनि भाइब्रेण्ट भिलेज छाङ्गुको भ्रमण गर्नेछन्। त्यहाँ उनीहरूले सेनाका जवानहरूलाई राखी बाध्नेछन् भने छाङ्गुका मानिसहरूसँग कुराकानी गर्नेछन्।

यस अवधि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले देशको अन्तिम गाउँबाट गाउँवासी पलायन नहोस् भन्ने उद्देश्यले ती गाउँलाई पनि पहिलो गाउँ बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको ध्वजवाहक कार्यक्रम “भाइब्रेण्ट भिलेज’’ अन्तर्गत आज सीमावर्ती क्षेत्रको भ्रमणमा राज्यका विद्यार्थीहरूलाई पठाएको जानकारी गराए। यस पहलको निम्ति उनले सम्बन्धित सबै विभागलाई धन्यवाद दिए। यस भाइब्रेण्ट भिलेज कार्यक्रममार्फत सिक्किमको चीनसँग संलग्न सीमावर्ती क्षेत्रमा बसोबासो गर्ने बासिन्दाहरू त्यहाँबाट अन्यत्र पलायन नहोस् भन्ने लक्ष्य राखेर ती क्षेत्र अझ विकसित गरिने मुख्यमन्त्रीले जानकारी गराए। उनले मुख्य रूपले मंगनको लाचा, लाचुङ, नाथुला आदि क्षेत्रका गाउँहरूमा आवश्यक पूर्वाधार विकास गर्न विभिन्न योजनाहरू कार्यान्वयन गरिने अवगत गराए। सीमावर्ती गाउँ भनेको अन्तिम गाउँ हो त्यहाँ कुनै पनि सुविधा हुँदैन भन्ने आम धारणालाई परिवर्तन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिम गाउँलाई पहिलो गाउँ बनाउन हरसम्भव पहल गरिरहेको मुख्यमन्त्री तामाङले जानकारी गराए। यस कार्यक्रम अन्तर्गत राज्यका विद्यार्थीहरूलाई सीमावर्ती क्षेत्र नाथुलासँगै भाइब्रेण्ट भिलेज छाङ्गुको भ्रमणमा पठाइएको उनले थप जानकारी गराएका छन्। सीमावर्ती क्षेत्रमा बसेर सेनाका जवानहरूले देशको रक्षा कसरी गर्छन् भन्ने अनि अन्तिम गाउँ छाङ्गुवासी कसरी बसेका छन् भन्ने अनुभव बटुल्न विद्यार्थीहरूलाई अध्ययन भ्रमणमा पठाइएको मुख्यमन्त्रीले जानकारी गराए। योसँगै उनले रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण राज्यवासीसँगै सेनाका जवानहरूलाई बधाई एवं शुभकामना दिएका छन्। एसकेएम सरकारको प्राथमिकता भनेको राष्ट्रिय सुरक्षा रहेको प्रष्ट पार्दै राष्ट्रको सुरक्षासँग सम्बन्धित मामिलाहरूलाई गम्भीरतापूर्वक लिने मुख्यमन्त्री तामाङले कटिबद्धता व्यक्त गरे।

यसअघि योजना एवं विकास विभागका सचिव रिञ्जिङ चेवाङ भोटियाले आफ्नो स्वागत सम्बोधनमा सिक्किमका मोठ २६ गाउँ भाइब्रेण्ट भिलेजको रूपमा चिह्नित गरिएको जानकारी गराए।

कार्यक्रममा राज्यका ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा, आईटी विभागका अध्यक्ष तेञ्जिङ लाम्था, गान्तोकका मेयर निलबहादुर छेत्री, उपमेयर छिरिङ पाल्देन भोटिया, जिल्लापाल, पार्षदगण लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement