इम्फाल(देवेन्द्र किशोर): भारतको उत्तर–पूर्वी राज्य मणिपुर फेरि एकपटक हिंसा र अस्थिरताको बहसमा तानिएको छ। चुराचन्दपुर मा सुरक्षा बलले कुकी राष्ट्रिय सेना (बर्मा)सँग सम्बन्धित एक सक्रिय कार्यकर्तालाई पक्राउ गर्दै हतियार तथा गोलीगठ्ठा बरामद गरेपछि राज्यको सुरक्षा अवस्था पुनः प्रश्नको घेरामा आएको हो। पक्राउ परेका व्यक्तिबाट ९ एमएम पेस्तोल, म्यागजिन र सात राउन्ड गोली बरामद हुनु सामान्य आपराधिक घटना मात्र होइन, सीमापार उग्रवादी सञ्जाल अझै सक्रिय रहेको संकेत पनि हो।
पछिल्ला केही वर्षयता मणिपुर जातीय द्वन्द्व, राजनीतिक अविश्वास र कमजोर प्रशासनिक नियन्त्रणका कारण निरन्तर तनावग्रस्त बन्दै गएको छ। विशेषगरी सीमावर्ती क्षेत्रहरूमा विदेशी समूहसँग जोडिएका सशस्त्र गतिविधि बढ्नुले स्थानीय सुरक्षामाथि गम्भीर चुनौती थपेको छ। पूर्व मुख्यमन्त्री एन. बिरेन सिंह ले यस घटनालाई “बेवास्ता गर्न नसकिने गम्भीर विषय” भन्नु स्वयं राज्यभित्र बढ्दो आतंक र अस्थिरताप्रतिको चिन्ताको संकेत हो।
तर प्रश्न केवल उग्रवादी समूहको उपस्थितिमा सीमित छैन। राज्य सरकार र सुरक्षा संयन्त्रको प्रभावकारिता पनि उत्तिकै आलोचनाको केन्द्रमा छ। लामो समयदेखि भइरहेका हिंसात्मक घटनाबीच प्रभावकारी राजनीतिक संवाद, सीमाको कडा निगरानी र समुदायबीच विश्वास निर्माण गर्न सरकार असफल भएको आरोप लाग्दै आएको छ।
यदि यस्ता घटनालाई केवल पक्राउ र बरामदीको उपलब्धिमा सीमित गरियो भने मणिपुरको संकट अझ गहिरिन सक्छ। स्थायी समाधानका लागि कठोर सुरक्षा रणनीतिसँगै राजनीतिक सहमति, सामाजिक मेलमिलाप र सीमापार गतिविधिमाथि प्रभावकारी नियन्त्रण अपरिहार्य देखिन्छ।











