गान्तोक: नेपालको धरानमा भीमबहादुर लिम्बूको स्मृतिमा स्थापित भीमबहादुर स्मृति साहित्य सम्मान यसवर्ष सिक्किमका वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ सीपी शर्मालाई प्रदान गरिएको छ। आज धरानमा आयोजित एक भव्य समारोहबीच शर्मालाई सम्मानित गरिएको हो। यसअघि उनी असमबाट भक्त राई स्मृति पुरस्कारबाट पुरस्कृत भइसकेका छन्। साथै नेपालको पोखराबाट नेपाली नाट्य संस्थानद्वारा पनि सम्मानित भइसकेका छन्। आजको समारोहमा अमेरिकावासी भूटानी नेपाली विद्वान डा. नारद पोखरेललाई प्रतिष्ठित ‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’ प्रदान गरियो। धरानमा आयोजित एउटा समारोहबीच दुई स्रष्टालाई उक्त सम्मान तथा पुरस्कारबाट अलङ्करण गरिएको हो। सिक्किमका सम्मानित साहित्यकार शर्माको १९९२ मा सावित्री र २००८ मा हरिश्चन्द्र कृति प्रकाशित भइसकेको छ। उनका अन्य कृतिहरूमा नेपाली सभ्यताको परिचय, नेपाली लोक परम्परा, नेपाली लोक संस्कृति एवं परम्पराको ढिकुटी आदि छन्। स्मरण रहोस्, २०७९ सालदेखि प्रदान हुँदै आएको भीमबहादुर स्मृति साहित्य सम्मान र पुरस्कार पहिलो वर्ष भारतका पद्भश्री लीलबहादुर छेत्री र हङकङकी जानु काब्जीलाई दिइएको थियो। त्यसैगरी २०८० अमेरिका निवासी डा. मधु माध्यलाई सम्मान र झापाका दीपक सुवेदीलाई पुरस्कार प्रदान गरिएको थियो।
आज सम्पन्न यस कार्यक्रममा साहित्यकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रा. डा. टङ्कनाथ न्यौपाने मुख्य अतिथि थिए भने प्रा. डा. शंकर शर्मा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। उक्त कार्यक्रममा कवि भीम बिरही राईको कविता सङ्ग्रह बारुदले कोरेका अक्षरहरू-पनि सार्वजनिक गरिएको थियो। यसबीच अन्तर्राष्ट्रिय प्रदेशी साहित्य समूहले प्रकाशित गरेको ‘प्रदेशी’ पत्रिकाको लोकार्पण पनि मुख्य अतिथिद्वारा गरिएको थियो।









