गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमका अध्यक्ष गणेश राईको नेतृत्वमा आज पार्टी मुख्यालय अदमपुलमा एक विशेष बैठक सम्पन्न भयो। बैठकमा पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमा हालै सम्पन्न उपचुनाउका क्रममा नाम्ची-सिङ्गीथाङ समष्टि र सोरेङ-च्याखुङ समष्टिका उम्मेदवार महेश राई र पबिनहाङ सुब्बाको नामाङ्कनलाई अवैध ठहराइएको घटनामा गहिरो चिन्तन गरेको बताइएको छ।क्यापद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा अनुसार, सीएपी सिक्किमले आफ्ना दुई उम्मेदवार महेश राई र पबिनहाङ सुब्बाको साहस र अडानको सम्मान गर्दै कृतज्ञता व्यक्त गरेको छ। पार्टीले यस विषम परिस्थितिमा उनीहरूको अटल प्रतिबद्धता र धैर्यतालाई उच्च मूल्याङ्कन गरेको छ। साथै, यी नेताहरूको नामाङ्कन प्रस्तावकहरूको सहयोग र समर्थनप्रति पनि पार्टी आभार व्यक्त गर्दछ।











