सिलगढी: गत वर्ष झैं यस वर्ष पनि गत २७ दिसम्बर शुक्रबार सिलगढी देवकोटा संघमा गिरी जयन्ती भव्य रूपमा सम्पन्न भयोl यस वर्षको ‘गिरी साहित्य सेवा पुरस्कार’ र ‘देवकोटा साहित्य सेवा पुरस्कार’ क्रमैसित डा सुकराज दियाली र डा राजकुमार छेत्रीलाई प्रदान गरियो। उल्लेखनीय छ, विशुद्ध अराजनैतिक, सामाजिक, सांस्कृतिक एवं साहित्यिक संस्था सिलगढी देवकोटा संघले प्रत्येक वर्ष उपरोक्त दुईवटा साहित्यिक पुरस्कार साहित्यिक साथै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदानको निम्ति प्रदान गर्दै आइरहेको छ। यस वर्ष २०२४ को ९७औं गिरी जयन्तीको भव्य कार्यक्रमकै अवसरमा पुरस्कार अलङ्करण समारोह संघकै प्रेक्षागृहमा संघका अध्यक्ष मिलन रूचालको अध्यक्षता अनि वरिष्ठ कवि मोहन ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। वरिष्ठ अतिथिगणमा स्नेहलता राई, डा नरेशचन्द्र खाती, प्रा. तेजमान बराईली, सङ्गीतकार बसन्त छेत्री, गोदुनिसका सचिव भुवन गिरी, कर्नेल पी के छेत्री, डा गीता निरौला, डा मौसम शर्मा आदि उपस्थित थिए।
कार्यक्रमको शुरूमा अध्यक्ष अनि विशिष्ट व्यक्तित्वहरूको बाहुलीबाट महाकवि देवकोटा अनि भगवान् बुद्धको मूर्तिमा दीप प्रज्ज्वलन अनि माल्यार्पण, पुष्पाञ्जली अर्पण गरेपश्चात्संघको नवनिर्मित पुस्तकालय कक्षको उद्घाटन भयो। आउने दिनहरूमा यस पुस्तकालयलाई ‘डिजिटल पुस्तकालय’ बनाउने योजना छ। प्रेक्षागृहमा सिलगढी देवकोटा संघको साहित्य विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ट अतिथिगणको आसन ग्रहणपश्चात् सम्मान जनाउँदै खादा अर्पण गरियो। त्यसपश्चात् पण्डितजीको मन्त्रोच्चारणसँगै अतिथिगणबाट दीप प्रज्ज्वलन गरी माता सरस्वतीको तस्वीरमा माल्यार्पण अनि कवि गिरीको तस्वीरमा माल्यार्पण र पुष्पाञ्जली अर्पण गरियो। राष्ट्रिय गीत ‘जन गण मन’ सबैले गाएपश्चात् अघिल्लो दिन दिवङ्गत भएका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आत्माशान्तिको निम्ति २ मिनटको मौन धारण गरियो।
संघका सचिव पी टी यल्मोको स्वागत सम्भाषणपश्चात दार्जीलिङ हिमालय कला केन्द्रकी गायिका सोनु राईले स्वागत गीत प्रस्तुत गरिन्। कार्यक्रममा जातीय कवि गिरीद्वारा रचित कविता मिना लामा राईले अनि महाकवि देवकोटाद्वारा रचित कविता वाटिका गोतामेले उत्कृष्ट ढङ्गमा वाचन गरे। कविता वाचनपश्चात् प्रा. डा गीता निरौला, गान्तोक निवासीद्वारा ‘गिरीको रचना र डायसपोरा चेतना’ शीर्षकमा अनि डा मौसम शर्माले ‘बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाका रचनामा बौद्धिक संचयन’ शीर्षकमा गहन वक्तव्य राखेका थिए। वक्तव्यपश्चात कार्यक्रमको अर्को प्रमुख आकर्षण पुरस्कार अलङ्करणको निम्ति सर्वप्रथम वरिष्ठ साहित्याकर तथा समाजसेवी डा सुकराज दियालीलाई आसन ग्रहण गराएपश्चात् उनको संक्षिप्त जीवनी परिचय संघकी सदस्य पार्वती देवानले प्रस्तुत गरिन् भने देवीकला शर्माले अभिनन्दन पत्र पठन गरिन्। अध्यक्ष, उपाध्यक्ष, साहित्य संयोजक र अन्य वरिष्ठ नारी सदस्यहरूका बाहुलीद्वारा डा सुकराज दियालीलाई ‘गिरी साहित्य सेवा पुरस्कार २०२४’ ले ससम्मान अलङ्कृत गरियो। पुरस्कार प्रदानको क्रममा डा दियालीलाई प्रमुख अतिथि मोहन ठकुरीले शिरशोभा पहिऱ्याए भने दोसल्ला संघका उपाध्यक्ष देवराज शर्माले पहिऱ्याए। यसरी नै अभिनन्दन पत्र, पुरस्कार चिन्ह,पुष्प बिरुवा र नगद राशि क्रमैसित संघका अध्यक्ष मिलन रूचाल, सचिव पी टी यल्मो र साहित्य संयोजक देविका मंग्राती राई, नारी विभागकी कार्यकारी सदस्य राधा प्रधान र पुरस्कार राशिको चेक कार्यकारी सदस्य मीरा गजमेर अरोडाको बाहुलीबाट प्रदान गरियो।
त्यसपश्चात् वरिष्ठ साहित्यकार तथा समाजसेवी डा राजकुमार छेत्रीको जीवनी परिचय सहसचिव कैलाश सुब्बाले प्रस्तुत गरे अनि अभिनन्दन पत्र युवा संयोजक गीता देवानले पठन गरिन्। डा छेत्रीलाई ‘देवकोटा साहित्य सेवा पुरस्कार २०२४’ पुरस्कारले अलङ्कृत गरियो। डा छेत्रीलाई संघका सल्लाहकार सतीश रसाइलीले शिरशोभा पहिऱ्याए भने डा नरेश चन्द्र खातीले खादा अनि सल्लाहकार गणेश प्रधानले दोसल्ला ओढाए। त्यसपश्चात अभिनन्दन पत्र र पुरस्कार चिन्ह अध्यक्ष, सचिव र साहित्य संयोजकको बाहुलीबाट अनि पुष्प बिरुवा र पुरस्कार राशिको चेक क्रमैसित नारी सह संयोजक रोहिता छेत्री अनि कार्यकारी सदस्य श्याम कुमार प्रधानको बाहुलीबाट प्रदान गरियो। उल्लेखनीय छ, पुरस्कृत साहित्यकारद्वयका नामको चयन संघले पाँचजना वरिष्ठ साहित्यकारहरूको निर्णायक मण्डलीद्वारा गराएको थियो भने मण्डलीका प्रत्येक निर्णायकले २१ जना साहित्यकारहरूको नाम, कृति, साहित्यिक तथा सामाजिक योगदान तथा व्यक्तित्वहरूको आधारमा भिन्दाभिन्दै अङ्कहरू दिएर पठाएपश्चात् साहित्य संयोजकले अध्यक्ष र सचिवलाई अनुमोदनको निम्ति बुझाएकी थिइन्। अध्यक्ष, सचिव र साहित्य विभागको टोलीले निष्पक्षरूपमा अङ्कहरू जोड़ेर प्रथम र दोस्रो निकालेपश्चात् पाँचमध्ये प्रथम र दोस्रो अधिक अङ्क पाउने दुई साहित्यकार डा सुकराज दियाली र डा राजकुमार छेत्रीको नाम दुई पुरस्कारको निम्ति घोषणा गरेको थियो।
पुरस्कार अलङ्करणपश्चात् पुरस्कृत स्रष्टाद्वायले आ-आफ्नो हर्षोद्गार व्यक्त गरे। सहसचिव श्याम प्रधानले कार्यक्रमको उद्घोषणा गरेका थिए। कविद्वय, वार्ताकारद्वय अनि निर्णायक मण्डलीलाई आभार जनाउँदै स्मृति चिन्ह प्रदान गरियो।
पुरस्कार अलङ्करण समारोहपछि कार्यक्रमका प्रमुख अतिथि मोहन ठकुरी, पाँचमध्ये एक निर्णायक तथा विशिष्ट अतिथि डा. नरेश चन्द्र खाती अनि अध्यक्ष मिलन रूचालले क्रमैसित आ-आफ्नो वक्तव्य राखेका थिए भने साहित्य संयोजक देविका मंग्राती राईले धन्यवाद ज्ञापन गरेकी थिइन्। यस दिनको दोस्रो चरणको कार्यक्रममा हिमालय कला मन्दिर, दार्जीलिङको रमाइलो साङ्गीतिक प्रस्तुति रहेको थियो। सर्वप्रथम बाल कलाकारहरूले सुन्दर नृत्यहरू प्रस्तुत गरेपश्चात् अग्रज कलाकारहरूद्वारा गीतहरूको प्रस्तुतिले गिरी जयन्ती साहित्यिकपश्चात् सङ्गीतमय बनेको थियो। कलाकार मेनका प्रधानद्वारा सञ्चालन गरिएको कार्यक्रममा बसन्त छेत्री, सुरेश कुमार, बद्री-दुर्गा खरेल, सुरेश कुमार आदिले रमाइलो साङ्गीतिक प्रस्तुति दिएका थिए। सहभागी कलाकारहरूलाई संघको तर्फबाट स्मृति चिन्ह अनि सबैलाई उपहार प्रदान गरियो। जातीय कवि अगमसिंह गिरीको ९७औं जयन्ती भव्यताका साथ सम्पन्न बनाउन संलगढीसहित संलग्न क्षेत्रहरू दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, नागरी, राङभाङ भ्याली, लाठपञ्चर, मङ्पू आदिका संघ-संस्था, विद्यार्थीवर्ग, विद्यालय, महाविद्यालयबाट व्यक्तिविशेषहरूको बाक्लो उपस्थिति रहेको थियो। यो जानकारी सिलगढी देवकोटा संघकी साहित्य संयोजक देविका मंग्राती राईले दिएकी हुन्।










