वार्ड नम्बर १३ मा चल्यो विशेष अभियान
सिलगढी: सिलगढी सहरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ सिलिगुडी महानगरपालिकाले अवैध होर्डिङ बोर्डहरू विरुद्ध आफ्नो सक्रियता बढाएको छ। यसै क्रममा महानगरपालिकाले वार्ड नम्बर १३ अन्तर्गत पर्ने एम. बजार क्षेत्रमा एक विशेष प्रवर्तन अभियान सञ्चालन गरेको छ।
महानगर आयुक्तको प्रत्यक्ष रेखदेख र निर्देशनमा संचालित यस अभियानका क्रममा अनुमति बिना र नियम विपरीत जडान गरिएका ठुला-ठुला विज्ञापन बोर्ड, ब्यानर र होर्डिङहरू हटाइएको छ। यस्ता अवैध संरचनाहरूले सहरको सुन्दरता बिगार्नुका साथै तीव्र हावाहुरी चल्दा वा प्राविधिक कमजोरीका कारण दुर्घटनाको जोखिम समेत बढाउने गरेका थिए।

महानगरपालिकाका अनुसार, सहरमा जथाभाबी राखिएका अवैध होर्डिङहरूका कारण एकातिर राजस्व गुमिरहेको छ भने अर्कोतिर सहरी सुशासनमा चुनौती थपिएको छ। आगामी दिनहरूमा पनि नगरका अन्य वार्डहरूमा यस किसिमको अभियानलाई निरन्तरता दिइने र नियम उल्लंघन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने महानगर प्रशासनले स्पष्ट पारेको छ। स्थानीय बासिन्दाहरूले महानगरको यस कदमको स्वागत गर्दै यसले सहरलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका छन्।









