सिलगढीमा चुनावी प्रचारका क्रममा भाजपा-तृणमूल नेताबीच तीखाे बहस

uyt18

सिलगढी: पश्चिम बंगाल विधानसभा चुनाव नजिकिँदै जाँदा उत्तर बंगालको राजनीतिक माहोल झन् तातेको छ। यसै क्रममा सिलगढी नगरनिगमको वार्ड नम्बर–४४ अन्तर्गत दशरथपल्ली क्षेत्रमा चुनावी प्रचारका क्रममा भारतीय जनता पार्टी (भाजपा)की उम्मेदवार शिखा च्याटर्जी र तृणमूल कांग्रेसकी पार्षद तथा बोरो चेयरम्यान प्रीतिकणा विश्वास बीच चर्को बहस भएको छ।
प्रारम्भमा सौहार्दपूर्ण रूपमा सुरु भएको संवाद क्रमशः तीखो बन्दै देशभक्ति, सीमा सुरक्षा र हिन्दुत्वजस्ता विषयमा केन्द्रित भएको थियो।
प्रचारका क्रममा शिखा च्याटर्जीले “देश सबैभन्दा पहिले हो” भन्दै बंगलादेश सीमाबाट सम्भावित सुरक्षाजन्य चुनौतीबारे चिन्ता व्यक्त गरिन्। उनले सीमावर्ती क्षेत्रमा उग्रवादी गतिविधि र अवैध प्रवेशको जोखिम रहेको दाबी गरिन्।
यसको जवाफमा प्रीतिकणा विश्वासले सीमा सुरक्षाको जिम्मेवारी केन्द्र सरकारको भएको उल्लेख गर्दै राज्य सरकारमाथि लगाइएका आरोपको प्रतिवाद गरिन्। उनले भनिन्, “सीमा सुरक्षा केन्द्रको दायित्व हो, त्यसलाई लिएर राज्य सरकारलाई दोष दिनु उचित होइन।”
सीमामा काँडे तार (फेन्सिङ) निर्माणका विषयमा पनि विवाद चुलिएको थियो। भाजपा समर्थकहरूले केन्द्र सरकारले बजेट उपलब्ध गराए पनि राज्य सरकारले आवश्यक जमिन उपलब्ध नगराएको आरोप लगाए। तर तृणमूल पक्षले भने सीमा व्यवस्थापन पूर्ण रूपमा केन्द्र सरकारकै जिम्मेवारी भएको तर्क प्रस्तुत गर्‍यो।
बहसका क्रममा हिन्दुत्व र रोहिंग्या शरणार्थीको मुद्दा पनि उठाइएको थियो। शिखा च्याटर्जीले यसलाई “देश बचाउने लडाइँ” को रूपमा प्रस्तुत गरिन् भने प्रीतिकणा विश्वासले हिन्दुत्वको नाममा जनतालाई भ्रमित पारिएको आरोप लगाइन्।
स्थानीय बासिन्दाहरूले यस घटनालाई दुई नेताबीचको कडा राजनीतिक प्रतिस्पर्धाको रूपमा लिएका छन्।
तृणमूल कांग्रेसका नेताहरूले ममता बनर्जी लगायतका उम्मेदवारहरूले ठूलो मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन्। यता भाजपा पक्षले भने चुनावलाई राष्ट्र र सुरक्षासँग जोडिएको महत्वपूर्ण लडाइँका रूपमा प्रस्तुत गरेको छ।

About Author

Advertisement