खरसाङ: टोय ट्रेन जंगल सफारी लगभग पाँच वर्षको लामो प्रतीक्षापछि पीपीपी (पब्लिक–प्राइभेट पार्टनरशिप) मोडलमा टोय ट्रेन जंगल सफारी फेरि एकपटक आईतबारदेखि शुरू भएको छ। दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)- को यस पहलबाट पर्यटकहरूमा खुशी छाएको छ। रेलवे सूत्र अनुसार यो विशेष जंगल सफारी मुख्य रूपमा सप्ताहको शनिवार र आइतवार सञ्चालन हुनेछ। यो सफारी सिलगढ़ी जंक्शनदेखि घैयाबारीसम्म पुग्नेछ। यात्रा अवधि पर्यटकहरूले ऐतिहासिक टोय ट्रेनको रोमाञ्चक सवारीसँगसँगै चिया बगानहरूको सुन्दर हरियाली, पहाड़ी प्राकृतिक दृश्य तथा स्थानीय संस्कृतिको आनन्द लिन सक्नेछन्। यस जंगल सफारीको उद्देश्य पहाड़, प्रकृति अनि लोक संस्कृतिको अनौठो अनुभव पर्यटकहरूसम्म पुऱ्याउनु हो। निजी कम्पनी संचालक सञ्जय गोस्वामीले बताए अनुसार यात्रा शुरू हुनसाथ पर्यटकहरूको लागि खाजाको व्यवस्था रहनेछ। घैयाबारी पुगेपछि विशेष पिकनिकको आयोजन गरिनेछ। यसको साथै दार्जीलिङको प्रसिद्ध पारम्परिक व्यञ्जन मोमोको स्वाद पनि पर्यटकहरूले चाख्न पाउनेछन्। डीएचआरका निदेशक ऋषभ चौधुरीले भने, वर्तमान पर्यटन सीजनमा जंगल सफारी मात्र नभएर पर्यटकहरूलाई आकर्षित गर्नको लागि नयाँ सफारी सेवा पनि शुरू गर्ने योजना छ। यस अतिरिक्त 15 वटा नयाँ टोय ट्रेनको इञ्जनलाई सामेल गरिनेछ। यात्रीहरूको सुरक्षा अनि सेवाको गुणस्तरलाई सर्वोच्च प्राथमिकता दिइने उनले बताका छन्।









