सिलगढी: सिलगढीको २३ नम्बर वार्डमा साँझ पर्न साथ बाहिरका मानिसहरूको भीड जम्न थाल्छ। यहाँ नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा हुने गर्दछ। प्रतिवाद गर्दा पनि तिनीहरूले कुनै पत्यार नदिएपछि अन्ततः वार्ड काउन्सिलर लगायत स्थानीय मानिसहरूले पुलिससमक्ष गुहार लगाएका छन्। सिलगढीको सूर्यनगर मैदानमा साँझ परेपछि बाहिरका युवक-युवतीहरू भेला हुनको साथै धेरैजसोले नशालु पदार्थ सेवन गर्ने गरेको स्थानीय मानिसहरू बताउँछन्। यसको साथै साँझको समय उक्त मैदानमा दिनहुँजसो झैँ-झगडा, हातापाई समेत हुने गरेकोले स्थानीय मानिसहरू वाक्कै दिक्कै बनेका छन्। समय-समयमा सिलगढी थानाका पुलिस उक्त इलाकामा गएर नजरदारी गरे तापनि इलाकाको परिवेशमा कुनै परिवर्तन नभएपछि आज वार्ड काउन्सिलर लक्ष्मी पाल तथा स्थानीय मानिसहरूले सिलगढी थानामा गएर एउटा ज्ञापन पत्र सुम्पे। यस सम्बन्धमा काउन्सिलर पालले बताए अनुसार उक्त मैदानमा वयस्कहरू जान सक्दैनन्। साँझ पर्नसाथ त्यहाँ केही युवक-युवतीहरूले नशालु पदार्थ सेवन गर्ने गर्दछन्। यसैले सूर्यनगर मैदानमा पुलिसको हस्तक्षेपको माग गर्दै आज ज्ञापन पत्र चढाएको हो।









