सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा तरञ्जुबारी फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। शुक्रवार सिमुलबारी खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल म्याचमा तरञ्जुबारी एफसी-ले रेड बुल एफसी (खोआरडांगा)-विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। म्याचको सबै गोल दोस्रो हाफको खेलमा भयो। विजेता टीमको तर्फबाट रोमन भुजेलले ७१औं मिनट, प्रदीप बुड़ाथोकीले ८२औं मिनट र मिराक लिम्बुले इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। प्रदीप बुड़ाथोकीलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा आर्मी रेड र युनाइटेड स्पोर्ट्स एफसी, काेलकत्ता बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










