२३ अगस्तः गोलकीपर रुपक कोयाको चमत्कारी प्रदर्शनको दममा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनको प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा मंगलवार भएको चरम रोमाञ्चक उद्घाटन म्याचमा यूकेएफसीले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-लाई सडन डेथमा ६-५-ले पराजित गऱ्यो। चरम प्रतिस्पर्धी म्याचको नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि सडन डेथमा चाहिँ यूकेएफसीले डीएसए-लाई ६-५-ले पराजित गरी प्री क्वार्टर फाइनलमा स्थान बनायो। यूकेएफसीका गोलकीपर रुपक कोयालाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई आजका मुख्य अतिथि जीटीए चेयरम्यान अञ्जुल चौहानको बाहुलीबाट पुरस्कार प्रदान गरियो। उद्घाटन समारोहमा उपस्थित अन्य अतिथिहरूमा खेलकुद प्रभारी नवराज छेत्री (जीटीए, खरसाङ), जीटीए सभासदहरू मिलेश राई, नुरी शेर्पा, कल्पना प्रधान, परेश तिर्की, खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-का सचिव निर्मल गुरुङ, सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका सचिव सुरेन प्रधानसहित अन्य गण्यमान्य व्यक्तिहरू सामेल थियो। उद्घाटन समारोहमा आयोजक समितिका सचिव सञ्जय सिंह, अध्यक्ष बिजेन्द्र छेत्री, उपाध्यक्ष परेश तिर्की, संयुक्त सचिव राज राईको सक्रिय भूमिका रहेको थियो। बुधवार खेलिने म्याचमा मानेभञ्ज्यांग फूटबल क्लब र एमएमएफसी निरपानियाँबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।









